Logo
Logo

मधेस विरोधी आरोप चिर्ने दौडाहामा महन्थ पक्ष


दृष्टि संवाददाता

126
Shares

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा० को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेको छ । ठाकुरले सर्वोच्चमा हालेको मुद्दा विचाराधीन छ । निर्वाचन आयोगबाट जसपाको आधिकारिकता प्राप्त यादव पक्ष संघमा सत्ता समीकरण मिलाउन काठमाडौंमा व्यस्त भइरहँदा आफूहरूमाथि लागेको मधेस विरोधीलगायत आरोप चिर्न ठाकुरसहित उनी पक्षीय नेताहरू मधेस झरेका छन् ।

महन्थ पक्षका नेताहरूले शुक्रबार मधेसका चार जिल्लामा अगुवा कार्यकर्ता भेलामार्फत तत्कालीन केपी ओली नेतृत्वको सरकारमा सहभागी हुँदाको १८ दिनको हिसाब पेस गरेका छन् । ओली सरकारमा सहभागी भएर जसपामा विभाजनको बिउ रोपेको भन्नेदेखि मधेस विरोधी तथा प्रतिगमनको मतियारसम्मको आरोप खोपिरहेको ठाकुर पक्ष मधेस विरोधीको आरोप चिर्न मधेस झरेको हो ।

निर्वाचन आयोगबाट जसपाको आधिकारिकता नपाए पनि ठाकुर पक्षले प्रदेश २ का चार जिल्लामा सोही पार्टीकै ब्यानरमा कार्यकर्ता भेला गरेको छ । जसपा अध्यक्षकै हैसियतमा ठाकुरले शुक्रबार महोत्तरीको सदरमुकाम जलेश्वरमा अगुवा कार्यकर्ता भेला गरे । भेलालाई ठाकुरसहित नेता शरत्सिंह भण्डारी, निर्जला राउतले सम्बोधन गरे । त्यस्तै, ठाकुर पक्षका नेता राजेन्द्र महतोले सप्तरीको राजविराजमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरे । भेलालाई महतोसहित नेता केशव झाले पनि सम्बोधन गरेका थिए ।

भेलामा राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीलगायतका नेता उपस्थित थिए । सिरहामा पनि शुक्रबार नै ठाकुर पक्षका नेता अनिलकुमार झाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरे ।

झासहित नेता उमाशंकर अरगरिया, सुरेन्द्रकुमार झा, जयनुल राइनलगायतका नेता सिरहाको कार्यक्रममा उपस्थित थिए । बारामा आयोजित कार्यकर्ता भेलालाई नेता लक्ष्मणलाल कर्णले सम्बोधन गरे । बारा भेलामा जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेललगायतका नेता उपस्थित थिए ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्