Logo
Logo

स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप अभियानलाई व्यापक बनाई सम्पूर्ण नेपालीलाई खोपको सुनिश्चित गराउनुुपर्ने बताउनुभएको छ ।

चिकित्सा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका १५ वरिष्ठ महिला चिकित्सकलाई शुक्रबार सम्मान गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेपाल चिकित्सक सङ्घले ‘वुमन इन मेडिसिन इन नेपाल २०२१’ अवार्डमार्फत महिला चिकित्सकहरूलाई सम्मान गरेको हो ।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले विद्यमान स्वास्थ्य संस्थाहरूले कोभिड–१९ सङ्क्रमणमको चाप झेल्नुपरिरहेको भन्दै विज्ञान तथा प्रविधिको विकासका कारण नै कोरोनाविरुद्धको खोप उपलब्ध हुँदै गएको बताउनुभयो ।

कोरोना भाइरसका नयाँ प्रकारहरू देखापरिरहेको भन्दै उहाँले त्यसको सामना गर्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट नागरिकको रक्षा गर्दै जनजीवनलाई सामान्य अवस्थामा फर्काउन जतिसक्दो छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कोरोना महामारीसँग लड्न अग्रपङ्क्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्तिको ठूलो सङ्ख्या महिला रहेको भन्नुहुँदै आफ्ना पारिवारिक र व्यक्तिगत प्राथमिकतालाई महìव नदिई महामारीविरुद्धको प्रतिकार्यमा लाग्ने सबै डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीहरूप्रति सम्मान प्रकट गर्नुभयो ।

‘‘स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण नेपाली महिलाले भोग्नुपरेका धेरै समस्या छन्’’, उहाँले भन्नुभयो– “मातृशिशु स्वास्थ्य, कुपोषण, रक्तअल्पता, घरपरिवारका अन्य सदस्यहरू बिरामी पर्दा वहन गर्नुपर्ने थप जिम्मेवारी महिलाभित्र रहेको छ ।” महिलाका विषयलाई सम्बोधन गर्न नेपाल सरकारले आफ्ना नीतिहरूलाई समयानुकूल सुधार गर्दै आएको उहाँले बताउनुभयो ।

सामाजिक र संस्कारगत परिवर्तनको गतिलाई अझ तीव्र बनाउन महिलाको सक्षमता अभिवृद्धि, पेसागत दक्षता विकास र नेतृत्व तहमा महिलाको सहभागिता बढाउनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो ।, यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्