Logo
Logo

जब १० हजार १९ को मृत्यु मात्र तथ्यांक बन्छ…


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । गत वर्षको जेठ ३ मा कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु भयो । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।

त्यति बेला उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछिका १५ महिनामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । चिकित्सक र जनस्वास्थ्य विज्ञ समयमै यथेष्ट तयारी हुन सकेको भए मृत्यु संख्या कम गर्न सकिने ठान्छन् । कतिपय विज्ञ मृतकको तथ्यांक देखाइएभन्दा अझ बढी रहेको दाबी गर्छन् ।

नेपालमा पहिलो पटक २०७६ माघ १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसको झन्डै डेढ वर्षमा अर्थात् शुक्रबारसम्म ७ लाख १० हजार ५०९ जना संक्रमित भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९४२ छ । संक्रमणदर अझै पनि २५ प्रतिशतको हाराहारीमा रहनु महामारी नियन्त्रणका हिसाबले सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ  । महामारीको फैलावटको हिसाबले यो उच्च दर हो । दोस्रो लहरले सबैभन्दा बढी आक्रान्त रहेको छिमेकी भारतमा समेत संक्रमण दर ३ प्रतिशतभन्दा कम छ  ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत चैत १ अघिसम्म (पहिलो लहर) मा मात्र ३ हजार १४ जनाको मृत्यु भएको थियो । त्यसपछिको झण्डै ५ महिनामा थप ७ हजारको मृत्यु भएको देखिन्छ । दोस्रो लहरको उत्कर्षमा कोरोनाबाट मृत्युदर १।७२ प्रतिशत थियो । अहिले यो १.५ प्रतिशतमा झरेकोछ। तर संक्रमण दर उच्च रहिरहँदा यसले अन्ततः मृत्युदरलाई पनि बढाउँछ । दुवै लहरमा मृत्यु हुनेमा सबैभन्दा बढी निजी अस्पतालमा उपचार गराउन पुगेका व्यक्ति छन् । त्यसपछि क्रमशः संघीय, प्रादेशिक अस्पताल, होम आइसोलेसन र संस्थागत आइसोलेसनमा मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्