Logo
Logo

‘मोडलिङमा लागेपछि फ्रेण्ड्ली भएँ’


एमपी सुब्बा

1.1k
Shares


मोडलिङ क्षेत्रमा चर्चित नाम हो, भावना गुरुङ । विशेषगरी र्याम्प मोडलिङ भन्नेवित्तिकै भावनाको नाम छुट्दैन । एक दशकभन्दा बढी ग्ल्यामरस क्षेत्रमा विताएकी भावना पछिल्लो समय ओझेलमा छिन् । मोडलिङबाट ‘ब्रेक’ लिएको झण्डै पाँच वर्ष हुन लाग्यो । तर, अझै उनलाई मोडलिङ मोहले पछ्याइरहेको छ । भावना भन्छिन्, ‘आफ्नै काम विशेषले रहर र रुचि भइकन पनि मोडलिङलाई समय दिन भ्याइनँ । अबचाहिँ भनेजस्तो अवसर पाएँ समय दिन सक्छु ।’ भावना मोडलिङमात्र नभएर कुसल कोरियोग्राफर तथा अभिनेत्री पनि हुन् । उनको कोरियोग्राफीमा थुप्रै र्याम्प शोहरु भएका छन् । साथै, गुरुङ भाषालगायत चार वटा नेपाली फिल्ममा समेत अभिनय गरेकी छन् । तैपनि पछिल्लो समय उनी ओझेलमा छिन् । ‘ओझेल पर्नु आफ्नो बाध्यता हो’ भन्छिन् उनी । उनै मोडल तथा अभिनेत्री भावनासँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

यही काठमाडौंमै छु । तर, काम केही गरेकी छैन । म्युजिक भिडियोका लागि कामहरु आइरहेका छन् । तर, गरेकी छैन ।

भिडियोमा काम नगर्नुको कारण ?

पहिलो कुरा कोरोना संक्रमणको त्रास छ । अर्को, मलाई सुहाउँदो क्यारेक्टर भएका गीतहरु आएको छैन । यो कोरोना संक्रमणको समयमा सुटिङका लागि भ्याली बाहिर जाने अवस्था पनि छैन । त्यसैले नगरेकी हुँ ।

तपाइँ बीचमा हराउनुभयो । कता जानुभएको थियो ?

यही थिएँ । झण्डै पाँच वर्ष भयो होला । यसबीचमा मोडलिङलाई समय दिन भ्याइनँ । काम विशेषले मोडलिङबाट ब्रेक लिएर बसेकी हुँ । मोडलिङ क्षेत्रमा नदेखिएपछि सबैले हराइन् भने । तर, ब्रेक लिनु मेरो बाध्यता थियो ।

कस्तो काम विषेश बताउन मिल्छ ?

त्योचाहिँ नभनौँ होला । जे होस् विजनेशकै काम हो ।

अब मोडलिङ गर्नुहुन्छ कि गर्नुहुन्न ?

राम्रो अवसर पाएँ गर्छु । मोडलिङ प्रतिको मोह मरेको छैन । रहर पनि पूरा भएको छैन । त्यसैले मलाई मनपर्ने र सुहाउँदो क्यारेक्टर पाएँ भने काम गर्छु । तर, आफ्नो काम छाडेर गर्दिनँ । मोडलिङ मेरो दोस्रोे प्राथमिकतामा मात्र पर्छ ।

एक समय मोडलिङमा सक्रिय हुनुहुन्थ्यो । त्योबेला खुसी हुनुहुन्थ्यो ?

खुसी थिएँ । साथीभाइ भेट हुन्थ्यो । रमाइलो पनि लाग्थ्यो । म त्यसै त खुसीमा जिउने मान्छे । अहिले पनि खुसी नै छु ।

मोडलिङमा करिअर नदेखेर साइट लाग्दै जानुभएको हो ?

होइन, मोडलिङमा करिअर छ । कोरोनाले गर्दा पछिल्लो समय अलिक गाह्रो छ । र्याम्प मोडलिङमा मात्र रमाउनेहरुका लागिचाहिँ ठप्प नै भएको छ । तर, म्युजिक भिडियोहरु बनिरहेका छन् । त्यसैले मोडलिङ क्षेत्र ध्वस्त नै भएको छैन । फिल्म क्षेत्रका लागि चाहिँ अझै केही वर्ष गाह्रो होला ।

तपाइँ -याम्प मोडल हो नि ?
म ¥याम्प मोडलमात्र होइन, फिल्म र म्युजिक भिडियोहरुमा पनि काम गर्दै आएकी छु । सुरुमा ¥याम्प मोडलिङ गरेकाले मलाई त्यसो भनिएको हो । मैले चार/पाँच वटा फिल्ममा पनि अभिनय गरेकी छु ।

अब आउने मोडलहरुको भविष्य के होला ?
हरेक काममा धैर्यता चाहिन्छ । एक दुई दिन मोडलिङ गरेर छाड्यो भने लक्ष्यमा पुग्न सकिन्न । तर, निरन्तर लागिपर्यो भने सफलता पाउन सकिन्छ । पछिल्लो समय मोडलिङ अझ फराकिलो बन्दै गएको छ । कोरोना महामारी नआएको भए मोडलिङ क्षेत्र रंगीन छ । अझै हुन्छ किनकि, यो महामारी सधैँ रहँदैन ।

लकडाउनको समय कसरी बित्यो ?

सुरुका दुई चार दिनचाहिँ गाह्रो भयो । किनकि, बाहिर डुलिरहने बानी परेको म । तर, विस्तारै लकडाउन लम्बिदै गयो । त्यसपछि बानी भयो । घरमै बस्ने भएपछि मेकअप गर्योे, टिकटक बनायो । साथीहरुसँग अनलाइन लुँडो खेल्यो । त्यसरी नै बित्यो ।

मोडलिङमा लागेर के पाउनुभयो ?
आत्मविश्वास, साथीभाई र नाम पाएँ । मोडलिङमा आउनुअघि सोझी र कम बोल्ने एकलकाँटे थिएँ । तर, मोडलिङमा लागेपछि धेरै बोल्ने र फ्रेण्ड्ली भएँ ।

कस्तो फिल्ममा प्रस्ताव आए काम गर्नुहुन्छ ?
म चन्चले छु । दयालु र मायालु पनि छु । त्यसैले मेरो स्वभाव सुहाउँदो चञ्चल र लभस्टोरी क्यारेक्टरका फिल्ममा अफर आयो भने काम गर्छु ।

तपाइँ अझै सिंगल हुनुहुन्छ कि ?

त्योचाहिँ नभनौँ ल । एकदिन सुटुक्कै भनौँला ।

प्रतिक्रिया दिनुहोस्