Logo
Logo

बार्सिलोनामा अब १० नम्बर जर्सी कसले लगाउला ?


दृष्टि संवाददाता

39.3k
Shares

एजेन्सी । हरेक खेलमा खेलाडीले लगाउने जर्सी नम्बरको विशेष महत्व हुने गर्दछ । फुटबल जगतमा झनै जर्सीको विशिष्ट महत्व रहन्छ।

फुटबल इतिहासमा जर्सी नम्बर १० जस्तो चर्चित र आइकनिक नम्बर सायद अरु छैन । विशेषगरी हरेक टोलीको प्रमुख प्ले-मेकरले लगाउने यो जर्सी नम्बर फुटबल जगतमा निकै उत्कृष्ट खेलाडीले लगाउने गर्छन् ।

फुटबल खेलमा जर्सी नम्बर १० लगाउने खेलाडीलाई उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ । बार्सिलोनाको १० नम्बर जर्सीलाई झनै धेरै महत्वका साथ हेरिन्छ । यो जर्सी यसकारण पनि विशेष छ कि यसलाई बार्सिलोनाकै सर्वाधिक सफल खेलाडी लियोनल मेस्सीले लगाएका छन् ।

ब्राजिलका पूर्व स्टार रोनाल्डिन्हाले त मेस्सीको सन्यासपछि बार्सिलोनाले १० नम्बर जर्सी हटाउनुपर्ने धारणा समते राखेका छन् । मेस्सीले सन्यास पनि बार्सिलाेनाबाटै लिनुपर्ने उनकाे भनाइ छ ।

तर, मेस्सी र बार्सिलाेनाबीच नयाँ सम्झैता भने हुन सकेन । बार्सिलोनाकाे अनुसार क्लव र मेसीबीच नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सहमति बनेपनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण मेस्सी बार्सिलोनाबाट बाहिरिनु परेको हो ।

मेस्सीले बार्सिलाेना छाड्ने पक्का भएसँगै अब बार्सिलोनाको १० नम्बर जर्सी कसले लगाउन भन्ने धेरै चासोको विषय बनेको छ । मेस्सी पीएसजी जाने चर्चासँगै अहिले बार्सिलोनामा उनको जर्सिमा को देखिन्छन् भन्ने चर्चा चुलिँदै गएको छ ।

मेस्सीले बार्सिलोना छाड्ने पक्क भएपछि यसै सिजन अनुबन्धित भएका अर्जेन्टिनाकै अर्का फरवार्ड सरजियो अग्युरोले लगाउने बताइएको छ । म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर अग्युरोले बार्सिलाेनासँग दुई वर्षकाे लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अग्युरोले सिटीमा हुँदा पनि १० नम्बरकै जर्सि लगाउने गर्थे । सिटीमा १० वर्ष बिताएका अग्युरोले सिटीको लागि ३५० खेलमा २४३ गोल गरेका थिए । उनी सिटीका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । अहिले अग्युरोले लगाउने गरेको सिटीको १० नम्बर जर्सि ज्याक ग्रिलीसले पाएका छन् । ग्रिलीसले यसै सिजन सिटीसँग ६ वर्षको लागि सम्झौता गरेका छन् ।

यसै सिजन बार्सिलोनामा अनुबन्धित भएका नेदरल्याण्डका फवार्ड मेम्फिस डिपे पनि बार्सिलोनामा १० नम्बर जर्सि लगाउने सम्भावना रहेको छ । उनले फ्रान्सेली क्लब लियोनमा हुँदा पनि १० नम्बरकै जर्सि नै लगाउने गरेका थिए । उनले चार वर्ष फ्रान्सेली क्लबमा बिताउँदा १ सय ७८ खेलमा ७६ गोल गरेका थिए । उनले गत सिजनको लिग वानमा २० गोल गर्दै सिजनका सर्वाधिक दोस्रो गोलकर्ता बने ।

डिपेले बार्सिलोनाका लागि डेब्यु खेलमै गोल गरेका थिए । जिरोनाविरुद्धको मैत्रिपूर्ण खेलमा बार्सिलोना ३-१ ले विजयी हुँदा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका डिपेले ८५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

यता, बार्सिलोनाकै अर्का खेलाडी मार्टिन ब्रेथवेट पनि बार्साको नम्बर १० जर्सि लागउन इच्छुक देखिएका छन् । गत वर्ष मेस्सीले क्लब छाड्ने घोषणा गरेपछि नै ब्रेथवेटले बार्सिलोनाको १० नम्बर जर्सिमा नजर लगाएका थिए । मेस्सीले गत वर्ष नै बार्सिलोना छाड्ने निर्णय गरेका थिए । तर, बार्सिलोनाले ‘रिलिज क्लज’ ७ सय मिलिय युरो तोकेपछि उनी त्याहीँ बस्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्