Logo
Logo

सहजपुर-घरखेडा सडकखण्डको म्याद सकियो, काम ३० प्रतिशत मात्रै


हिक्मत बम

8.8k
Shares

धनगढी । चुरे गाउँपालिकाको कार्यालय गत वर्ष घरखेडामा निर्माण भएको नयाँ भवनमा सर्याे । सहजपुरमा कार्यालय हुँदा गाउँपालिकाबाट सेवा लिन सेवाग्राहीलाई सहज थियो ।

चुरे क्षेत्रको मुख्य बजार सहजपुर भिमदत्त राजमार्गसँग जोडिएको सडकमा पर्दछ । अहिले गाउँपालिकाको कार्यालय सहजपुरबाट ६ किलोमिटर टाढा घरखेडामा छ ।

सहजपुरबाट घरखेडा पुग्न स्थानीयहरुलाई पैदल चार घण्टा लाग्छ । तर अहिले वर्षातको समयमा सवारीसाधनबाट गाउँपालिका कार्यालय पुग्न भने पाँच घण्टा लाग्ने गरेको स्थानीयहरु बताउँछन ।

हिलाम्य सडकका कारण सेवाग्राही र कर्मचारीहरुलाई गाउँपालिका कार्यालय पुग्न निकै मुस्किल हुने गरेको छ । सामान्य सिफारिसकै लागि पनि अहिले सेवाग्राहीलाई सडकका कारण दुई दिन लाग्ने गरेको छ ।

‘सडक हिलाम्य हुँदा गाडी चल्न सक्ने अवस्था छैन, चार घण्टा हिँडेरै गाउँपालिका कार्यालय पुगे, काम गरेर फर्किने बेला रातिको ७ बज्याे, अनि यतै सहजपुर होटेलमा बास बसे,’ वडा नम्बर ६ गिथडाका अर्जुन कार्कीले भन्नुभयो, ‘सडकले निकै सास्ती भयो, जोखिमपूर्ण यात्रा गर्नुपर्याे, ज्यानलाई बाजी राखेर ।’

सडक निर्माणको काम वर्षातको बेला हुँदैछ । चुरेमा वर्षातको बेला कुनै पनि विकास निर्माणका काम गर्नु आफैमा जोखिम मानिन्छ । तर बजेटको दुरुपयोग गर्न पल्केका कर्मचारी र जनप्रतिनिधिका कारण निर्माण कम्पनीले वर्षातको समयमा बजेट निकासा गर्नेको लागि स्काभेटर र जेसिबी चलाएको छ ।

‘वर्षातको बेलामा काम हुँदै छ, सफा कपडा लगाएर गएको मान्छे पनि रोपाइँ गरेर आए जस्तो हुन्छ,’ वडा नम्बर २ का चक्र साउँदले भने, ‘हामीलाई वडा नम्बर २ को कार्यालयबाट गाउँपालिका पुग्न पैदल दुई दिन लग्थ्यो । सवारीसाधन भयो भने एक दिन लाग्थ्यो तर अहिले गाउँपालिका जाने सडक हिलाम्य हुँदा जोखिमपूर्ण यात्रा गरेर तीन दिनमा पुगिन्छ ।’

‘बिहीबार विहान ५ बजे घरबाट हिँडेका थियौँ, तर साँझ मात्रै सहजपुर पुग्यौँ, त्यहाँबाट ज्यानको बाजी राखेर हामी चिप्लो बाटोमै हिँडेरै फेरि गाउँपालिका कार्यालय पुगौँ तर त्यहाँ सबै काम सकिएन, त्यो रात हामी घरखेडा नै बस्यौँ, शुक्रवार बिहान फेरी गाउँपालिका पुगेर काम भयो, अहिले फर्किँदै छु,’ वडा नम्बर ५ खानिडाँडाका पदम सापकोटाले भने, ‘सडककै कारण एक दिनमा हुने कामको लागि दुई दिन लाग्यो, अहिले पनि डोजर चलिरहेको छ, आवत-जावत गर्न निकै सास्ती छ ।’

सडकको म्याद सकियो, प्रगती ३० प्रतिशत मात्रै

सहजपुर माथिल्लो भेगदेखी घरखेडा पुग्न ६ किलोमिटरको दूरी छ । गाउँपालिका कार्यालयसम्मको सडक ग्रोभलका लागि २०७६ मा गाउँपालिकाले बझाङको जागृति निर्माण सेवासँग आठ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि तीन करोड ६४ लाखमा ठेक्का सम्झौता गर्याे ।

दुई वर्षमा काम पूरा गर्ने गरी सम्झौता गरिए पनि हालसम्म आयोजनाको ३० प्रतिशत मात्र काम काम पुरा भएको छ । ‘सम्झौता अवधि असार मसान्तमा सकिएको छ, कार्य प्रगती ३० प्रतिशतको हाराहारीमा छ,’ गाउँपालिकाका इन्जिनियर विक्रम कँडेलले भने, ‘अहिले पनि काम जारी छ, म्याद थप्न निर्माण कम्पनीबाट निवेदन आएको छ, समयमै काम सक्न निर्माण कम्पनीलाई झक्झकाइरहेका थियाैं । तर, ठेकेदारको अटेरीले काम सम्पन्न भएन ।’

निर्माण कम्पनीको चरम लापरबाही र प्राविधिक त्रुटिका कारण सडक निर्माणमा ढिलाइ भएको इन्जिनियर विक्रम कँडेल बताउँछन् । ‘हामीले गाउँपालिका कार्यालयसम्म पुग्ने गरी सडक बनाउन खोजेका हौँ, त्यसमा प्राविधिक त्रुटि पनि भएको छ,’ उने भने, ‘म आउनुभन्दा पहिला नै सम्झौता भइसकेको थियो, वर्षातको बेला काम भइरहेकाले स्थानीयहरुले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।’

एक करोड लिएर सम्पर्कमा छैन ठेकेदार

निर्माण कम्पनी जागृति निर्माण सेवाको तर्फबाट प्रकाश रोकायाले हस्ताक्षर गरेका थिए । सम्झौता गरिसकेपछि उनले पटकपटक गरेर एक करोड ३५ लाख बढी भुक्तानी लगिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेशराज सोतीले जानकारी दिए । उनले भन, ‘भुक्तानी लिइसकेपछि ठेकेदार सम्र्पकविहीन भएका छन् । हामीले पटकपटक सम्र्पक गर्न खौज्यौं तर पनि उनी सम्पर्कमा आएनन् । जसले गर्दा चुरेबासीलाई गाउँपालिका कार्यालय पुग्न सडकका निकै सास्ती भएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत सोतीले म्याद सकिनु भन्दा दुई साता अघि मात्रै उनले गाउँपालिका कार्यालय पुगेर म्याद थपी दिन आग्रह गरेको बताए । उनले भने, ‘हामीले चाहेको बेला पनि उनी सम्पर्कमा आउँदैनन्, फोन गर्दा पनि उठाउँदैनन्, तर म्याद सकिने बेला आफैँ सम्पर्कमा आए अहिले फोन गर्दा उठाउँछन्, सोतीले भन्नुभयो, ‘पाँच महिना भित्रै काम सक्ने प्रतिबद्धता आएको छ ।’


ठेकेदारको चरम लापरबाहीका कारण सेवाग्राही र जनप्रतिनिधि सबैले सास्ती पाएको गाउँपालिका अध्यक्ष धनबहादुर रोक्का मगरले बताए । ‘निर्माण कम्पनीले बदमासी गर्याे, दोष हामीमाथि छ’, उनले भने, ‘हामीले पटकपटक ताकेता गर्दा पनि असारसम्म कुनै काम गरेन ।

ठेकेदारले अहिले डोजर चलाएर सडक झन् बिग्रायो ।’ यसले गर्दा सेवाग्राही र स्थानीयलाई यात्रा गर्न कठिन भएको छ । सडकको विषयमा ठेकेदार रोकायासँग बुझ्न खोज्दा उनले फाेन उठाएनन् ।

फेरी म्याद थप्ने तयारी

सडक निर्माण गरी कालोपत्रे गर्ने सम्झौता हैनन् । तीन करोड ६४ लाखमा ६ किलोमिटर सडक मात्रै ग्राभेल गर्न भनिएको छ । तर ठेकेदारले यति काम पनि दुई वर्ष भित्र गर्न सकेनन् । फेरी म्याद थप्ने तयारी भइरहेको छ ।

‘नाली निकालेर ५ किलोमिटर सडक ग्राभेल गर्न भनेका हौँ, ठेकेदारले म्याद सकिने बेला मात्रै काम सुरु गरे’, इन्जिनियर कँडेलले भने, ‘अहिले म्याद सकिएको आधा महिना भइसकेको छ, म्याद थप्ने विषयमा छलफल जारी छ, केही दिनमै फेरी हामी म्याद थप्छौँ ।’

अन्तिम मौका स्वरूप ६ महिना सम्म म्याद थप गरिने गाउँपालिका अध्यक्ष रोका मगरले जानकारी दिए । ‘कानुनले पनि ६ महिना म्याद थप गर्न दिएको छ, हामीले अन्तिम मौका भनेर म्याद थप गर्ने योजना बनाएका छौँ’, गाउँपालिका अध्यक्ष रोका मगरले भने, ‘अब बस्ने कार्यपालिका बैठकबाट म्याद थप हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्