काबुल । केही दिन यता अफगानिस्तानमा तालीबान बिद्रोही र सरकारी सेनाबीच लगातार भीडन्त भइरहेको छ । तालाबानले एक पछि अर्को सहर कब्जा गर्दै गएपछि सरकारी सेना प्रतिकात्मक रुपमा उत्रिएको हो ।
यसैक्रमम तालिबान विद्रोहीहरूले सेबेरघान सहरमा कब्जा जमाएका छन् । विद्रोहीले २४ घण्टाभित्र दोस्रो प्रान्तीय राजधानीमाथि कब्जा जमाएको सहरका डेप्यूटी गभर्नरले जानकारी दिएका छन् ।
जवजान प्रान्तको राजधानी सेबेरघनका डेप्यूटी गभर्नर कादेर मालियाका अनुसार सरकारी फौज र अधिकारीहरू यति बेला उत्तरी अफगान सहरको विमानस्थलमा एकीकृत भएका छन् । उनीहरूले त्यहाँ आफूलाई जोगाउने प्रयास गरिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले सरकारी फौज र अधिकारी भागेर विमानस्थलमा पुगेका छन् ।
तालिबानले पनि सेबेरघन सहर आफ्नो कब्जामा आएको विज्ञप्ति जारी गरेको छ । सरकारले भने तालिबानले सहरमा पूर्ण रूपमा नियन्त्रण कायम गरिनसकेको दाबी गरेको छ । गृह मन्त्रालयले ‘काउन्टर’ कारबाही गर्नका लागि त्यस क्षेत्रमा थप सेना, विशेष फौज पठाउनुका साथै हवाई कारबाही पनि सुरु गरिएको बताएको छ ।
प्रान्तीय काउन्सिलर विस्मिल्लाह साहिलले तालिबानले गर्भनरको कार्यालय, प्रहरी हेडक्वार्टर र केन्द्रीय कारागारमा कब्जा गरेको बताएका छन् । सरकारी फौजले विमानस्थल लगायत स्थानमा विद्रोहीसँग भिडन्त गरिरहेको जवजानका सांसद करिम जवजानीले जानकारी दिएका छन् । अमेरिकी सेना फर्किएसँगै तालिबानले अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्रमा कब्जा जमाइसकेको छ । यतिबेला तालिबानले सहर केन्द्रित कारबाहीहरू गरिरहेको छ ।