Logo
Logo

जनप्रतिनिधि महिलाको गुनासो, ‘नेता बनाइयो, नेतृत्व दिइएन’


नन्दा थापा

378
Shares


बाजुरा । त्रिवेणी नगरपालिका जनप्रतिनिधि महिलाहरु नेता बनाइएकामा खुसी छन् तर नेतृत्व नदिएको भन्दै रुष्ट भएका छन् । अर्काको सुझावका आधारमा काम गर्नुपर्ने उनीहरुलाई बाध्यता छ । न उनीहरुलाई तालिम छ, न त प्रशिक्षण नै । उनीहरुका लागि विधि, विधान र कानुनका परकै कुरा हो । वडा कार्यसमितिकै बैठकमा समेत कसरी प्रस्तुत हुने भन्ने ४ वर्ष पुग्दासम्म उनीहरुलाई थाहा छैन ।

स्थानीय तहको सेवा सञ्चालन तथा व्यस्थापनसम्बन्धी आदेश २०७४ मा वडा सदस्यको काम वडा समितिको बैठकमा भाग लिने र तोकिएको काम वा वडा अध्यक्षले तोकेको काम गर्ने हो । तर, त्रिवेणी नगरपालिका वडा नं. १ का दलित महिला वडा सदस्य विर्मा नेपाली कोराम पुर्याउनका लागिमात्रै वर्ष दुई पटक नगरसभामा सहभागी भएकी छन् ।

वर्षमा दुई पटक सञ्चालन हुने नगरपरिषदमा कोरोम पुर्याउन मात्र आफ्नो सहभागी गराएको उनको गुनासो छ । नेता बनायो तर नेतृत्व नदिएको अधिकांश महिला जनप्रतिनिधिको दुखेसो छ ।

नीतिगत रुपमा संविधानले नै महिलालाई अधिकार सम्पन्न बनाएको छ । राज्यको हरेक संरचनामा महिला अनिवार्य व्यवस्था गरिएको छ । तर, ती पद र गरिएको व्यवस्था महिलाका लागि संख्या पुर्याउने र गणनामा जोड्न काममा सीमित पारिदिएको गुनासो उनीहरुको छ । नेतृत्व दिने र अवसर प्रदान गर्ने निकायबाटै क्षमता विकास सम्मानजनक सहभागिता गराउनु पर्ने हो । तर, नामका लागि भएको देखिन्छ ।

चार वर्षसम्म काम गरिसकेका वडा कार्यसमिति र नगरसभाकै परिषदमा मात्रै सहभागी भएका महिला जनिप्रतिनिधिलाई टेवा नेपाल, महिला विकास विकास मञ्च बाजुराले अहिले आएर प्रशिक्षण दिँदा पछुतो लागेको महशुस गरेका छन् । नसुनेका कुरा पहिलो पटक तालिममा सहभागी हुँदा सिकाई भएको महिला जनप्रतिनिधिको भनाइ छ । वडा नं. ९ का महिला वडा सदस्य बेलुदेवी साउदले कार्यपालिकाको सदस्य भएर काम गर्दाको श्रेय संघसस्थालाई दिएकी छन् ।

महिलाले पद पाएपनि अधिकार पाएका छैनन् । उनीहरुको सहभागिता समेत सम्मानजनक छैन । जुन कारण पिसविन महिला विकास मञ्चलगायतका गैरसरकारी संस्था र व्यक्तिको खुलेरै प्रशंसा गर्ने महिला जनप्रतिनिधिले आफ्नो पार्टी, सरकार र नेताहरुको नाम लिन तयार छैनन् । स्थानीय तहको संरचनामा साँक्षीका लागि मात्र सहभागी गराएको अभाषा उनीहरुलाई भएको छ ।

उपभोक्ता समितिदेखि वडा समितिसम्म, नगर कार्यपालिकादेखि विधि विधान संघीय संसद सम्म महिला कोठा निर्धारण गरिएको छ । तर, महिलालाई अग्रभागमा राखेर नेतृत्व दिनचाहिँ कुनै संरचना छैनन् । महिला आफैँमा पितृसत्ताको चपेटामा पर्नु एउटा कारण हो भने अर्को उनीहरुको कम योग्यता र क्षमता अर्को कारण हो ।

न्यायिक समितिको संयोजक भई काम गर्नेबाहेक अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा कार्यबाहक भई काम गर्ने, अध्यक्ष वा प्रमुखले प्रत्यायोजना भइ आएका काम गर्ने र तोकिएको अन्य काम गर्नु उपाध्यक्ष वा उपप्रमुखको अतिरिक्त काम हो ।

त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनारले अहिलेका जनप्रतिनिधिलाई प्रशिक्षण आवश्यक रहेको भन्दै नगरभन्दा संस्थालाई धन्यवाद दिएकी छन् उनले आफ्नो काम कर्तव्य नै थाहा नभई अरुकै सिकाईको आधारमा काम गर्दा विधि विधानमा चल्न नसकेको बताइन् । यसका लागि अब जनप्रनिधिलाई प्रशिक्षण आवश्यक रहेको उनको भनाइ छ ।

क्षमता विकासमा गैरसरकारी संस्थाको भूमिका रहेपनि नीति निर्माण र योजना तय गर्ने बजेट बाँडफाँड गर्ने स्थानमा महिलालाई साँक्षी राख्ने गरिएको छ । त्यो बाध्यता स्वयम स्थानीय तहका उपप्रमुख, उपाध्यक्षहरुले समेत भोग्ने गरेका छन् । कतिले भन्न आँट गर्दैनन्, कतिलाई पुरुष नेतृत्वबाट सहभागी गराइँदैन । महिलाका लागि त्यो मानसिकता चिर्नु पहिलो चुनौति छ, भने आफू पनि योग्य र सक्षम हुनु अर्को चुनौति बनेको छ ।

यसैबीच त्रिवेणी नगरपालिकाका जनप्रतिनिधि र अगुवा महिलालाई नेतृत्व विकासका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । जनप्रतिनिधि महिलाको क्षमता विकास र नेतृत्व क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम सञ्चालन गरिएको हो ।

महिला विकास मञ्च र टेवा नेपालको सयुक्त सहकार्यमा सञ्चालित पेभ कार्यक्रमअन्र्तगत नगरपालिकाका १९ जना महिला जनप्रतिनिधी र ९ जना अगुवा महिलालाई तालिम प्रदान गरिएको छ ।

जनप्रतिनिधि महिलाहरु नाममात्र नभइ कामले नै नेतृत्व लिन सकुन् भन्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्टले बताइन् । कार्यक्रम गत वर्षदेखि बडिमालिका र त्रिवेणी नगरपालिकामा सञ्चालन भइरहेको छ ।

डिमालिकाका २८ जना महिलालाई योभन्दा अगाडी प्रशिक्षण गरिसकेको महिला विकास मञ्च बाजुराले पछिल्लोपटक त्रिवेणी नगरपालिकाका २८ जना सहभागी गराई प्रशिक्षण गराएको हो ।

सिमान्तकृत महिलाको आवाज तथा सहभागिता, नगरपालिकास्तरिय जनप्रतिनिधि महिला र सम्भावित महिलाहरुका लागि नेतृत्व क्षमता विकास सम्बन्धि तालिम वुमनकाईन्ड युकेको सहयोगमा र टेवा नेपाल महिला विकास मञ्च बाजुराको आयोजना सञ्चालन भएको हो । महिला विकास मञ्चका पूर्वअध्यक्ष जुना दानीको अध्यक्षतामा सञ्चालन गरिएका ३ दिने प्रशिक्षण कानुन व्यवसायी तुलाराम जैशीले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्