काठमाडौं । सरकारकाले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको नेतृत्वमा आइतबार कोटेश्वरमा प्रदर्शन गरिएको हो ।
नेपाल भूमिहीन सुकुम्बासी संगठनले आयोग पुर्नस्थापनाको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘सम्पूर्ण भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी एक हौँ, भूमिसम्बन्धी समस्या समाधान आयोग पुनः स्थापना गर’लगायतका नारा लगाइएका थिए ।
नेपाल भूमिहीन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले सरकारले भूमि आयोग पुनःस्थापना नगरे थप आन्दोलनलाई सशक्त पार्ने चेतावनी दिएकी छन् । नेकपाका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै भूमिसम्बन्धी समस्या आयोग गठन गरेको थियो ।
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले १९ साउनमा उक्त आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ ।