काठमाडाैं । माथिल्लो तामाकोसीका चार वटा युनिटबाट विद्युत उत्पादन सुरु भएको छ। उत्पादन सुरू भएसँगै तामाकोसीको ३ सय ४ मेगावाट विद्युत केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तामाकोसीको उत्पादन जोडिएसँगै प्राधिकरणको जडित क्षमता १ हजार ७ सय ५० मेगावाट पुगेको जानकारी दिए। माथिल्लो तामाकोसीको ४ सय ५६ मेगावाटनै प्रणालीमा जोडिदा १९ सय मेगावाट जडित क्षमता पुग्ने छ।
अधिकतम विद्युत खपत भने १ हजार ५ सय २७ मेगावाट मात्रै भएको छ। अर्थात जडित क्षमता भन्दा २ सय मेगावाट बढी विद्युत अहिले पनि खेर जाने अवस्था देखिन्छ।
तर, एक सय मेगावाट बराबरका कुलेखानी जलाशयका परियोजना आवश्यकता अनुसार मात्रै चलाउने हुँदा जडित क्षमतामा जोडिए पनि दैनिक खपतमा यसलाई अन्य आयोजना सरह जोड्न नमिल्ने भार प्रेषण केन्द्रले जनाएकाे छ ।
माथिल्लो त्रिशुली ३ ए को एउटा युनिटको ३० मेगावाट र चमेलियाको एउटा युनिटको १५ मेगावाट गरि ४५ मेगावाट विद्युत अहिले मर्मतका लागि उत्पादन बन्द छ।