काठमाडौं । यस पटक ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीले माध्यामिक तह कक्षा १० (एसइई)को परीक्षा दिएका थिए । बोर्डले ११ हजार ६ सय विद्यालयले पठाएको नतिजालाई प्रमाणीकरण गरि शनिबार नतिजा प्रकाशित गरेको छ । तर आफैले सर्वाजनिक गरेको नतिजा सञ्चारकर्मी र सञ्चार क्षेत्रमा उपलब्ध नगराउनु विद्यालयले दिएको अस्वभाविक अंकलाई ढाकछोप गरेको शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइ छ ।
विद्यालयले आफू अनुकुल विद्यार्थीलाई नम्बर दिएका थिए । त्यहीँ भएर २०७२ सालदेखि सुरु भएको ग्रेडिङ प्रणालीको नतिजामा २०७३ मा दुई÷चार विद्यार्थीले मात्रै जिपिए ४ ल्याएका थिए । तर यस पटक हजारौं विद्यार्थीको जिपिए ४ आएको र विद्यालयको बदमासी भएको शिक्षाविद कोइरालाले बताए ।
विद्यालयको बदमासीलाई लुकाउन बोर्डले विश्लेषनात्मक सूचना सार्वजनिक नगरेको उनको आरोप छ । देशभरिको नतिजा प्रमाणीकरण गर्ने परीक्षा बोर्डले किन नतिजा उपलब्ध गराएन ? यसको अर्थ बदमासी भएको प्रष्ट हुन्छ उनको भनाइ छ ।
यसपटक ८ हजार चार सय ४४ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन् । कोरोना जोखिमका कारण गत वर्षदेखि सरकारले एसइई परीक्षाको सञ्चालन, व्यवस्थापन तथा मूल्यांकनाको अधिकार सम्बन्धित विद्यालयलाई दिएको छ । विद्यालयहरूले आन्तरिक मूल्यांकनको आधारमा अंक दिँदै आएका छन् ।
‘विद्यालयलाई अधिकार दिएसाथै ह्वात्तै जिपिए ४ ल्याउनेको संख्यामा वृद्धि हुनुले विद्यालयले बदमासी गरेको प्रष्ट देखिन्छ,’ शिक्षाविद कोइरालाले भने, ‘विद्यालयको बदमासी ढाकछोप गर्न परीक्षा बोर्डले नतिजा विश्लेषण पनि गरेन र नतिजा उपलब्ध पनि नगराएको होला।’, यो समाचार आजको नागरिक दैनिकबाट साभार गरिएको हो ।