Logo
Logo

अध्यक्ष र महासचिव मात्र निर्वाचित हुने, वरिष्ठ नेता नरहने

उपाध्यक्ष घट्ने र सचिव बढ्ने


सन्तोष साह

128.2k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केपी शर्मा ओली समूहले विधान संशोधन गर्दै संगठनात्मक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी थालेको छ । तयारीअनुसार ओली समूहले केन्द्रीय कमिटीको संख्या २२५ पुर्याउनेछ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले पारित गरेको विधान संशोधन प्रस्तावअनुसार एमालेको संगठनात्मक संरचनामा व्यापक परिवर्तन हुने भएको हो ।

अध्यक्ष र महासचिव मात्र निर्वाचित
स्थायी कमिटीले पारित गरेको प्रस्तावमा वरिष्ठ नेताको व्यवस्था हटाइएको छ । साथै, अध्यक्ष र महासचिव मात्र महाधिवेशनबाट निर्वाचित हुनेछन् । बाँकी पदाधिकारी केन्द्रीय कमिटीले मनोनित गर्ने पारित प्रस्तावमा व्यवस्था गरिएको छ ।

उपाध्यक्ष घट्ने र सचिव बढ्ने
पारित प्रस्तावअनुसार एमालेमा अब १ अध्यक्ष, २ उपाध्यक्ष, १ महाचिव, २ उपमहासचिव र ७ सचिव हुनेछन् । यसअघि एमालेमा ५ उपाध्यक्ष रहेकोमा त्यसलाई घटाएर २ मा झारिएको छ । यसैगरी ५ सचिव हुने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ७ पुर्याएको छ ।

विधानमा प्रदेश कमिटीको व्यवस्था नभएकोमा अब सो सम्बन्धी व्यवस्था विधानमै गर्ने काम भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दृष्टिन्यूजलाई बताए ।

संस्थायी कमिटले पारित गरेको उक्त प्रस्ताव आजै बस्ने केन्द्रीय कमिटी बैठकले पारित गरेपछि यो प्रस्ताव विधान अधिवेशनमा पुग्ने छ । विधान अधिवेशनले पारित गरे अब एमालेको केन्द्रीय कमिटीको संख्या २२५ हुनेछ । यस अघि नवौं महाधिवेशनबाट पारित विधानअनुसार केन्द्रीय कमिटीको संख्या १५९ थियो । तर विभिन्न चरणमा केन्द्रीय सदस्य थप्दै यो संख्या २४१ पुर्याइएको थियो । केन्द्रीय कमिटीको सख्ंयाको आधारमा १० प्रतिशत नबढ्ने गरी केन्द्रीय कमिटीले मनोनित गर्ने व्यवस्था रहेको प्रस्तावमा पारित भएको हो ।

१७ साउनमा बसेको एमाले स्थायी कमिटी बैठकले २७ र २८ भदौमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलको नेतृत्वमा विधान संशोधन प्रस्ताव कार्यदल गठन यसअघि नै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्