Logo
Logo

बैठकमै ओलीलाई वामदेवले थर्काएपछि…


दृष्टि संवाददाता

12k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई थर्काउने गरी धारणा राख्न थालेपछि बैठकमा एकछिनका लागि सन्नाटा छायो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज बसेको स्थायी कमिटी बैठकमा विधान संशोधन प्रस्तावमा उपाध्यक्ष गौतमले धारणा राख्ने क्रममा विधानमै अध्यक्षलाई ‘आममाफी दिने र अपराधी’ भन्न मिल्ने व्यवस्था राख्नुपर्ने बताए ।

फाइल तस्वीर

अध्यक्ष ओलीले केही दिनअघि वरिष्ठ नेता माधवकुमार नेपालप्रति देखाएको व्यवहारको कडारुपमा आलोचना गर्दै उपाध्यक्ष गौतमले विधानमै अध्यक्षलाई विशेष अधिकार दिनुपर्ने कटाक्ष गरेका छन् ।

अध्यक्ष ओलीले मनपरी गरेको भन्दै उनले विधान संशोधन गर्दा अध्यक्षका अधिकारहरूमा त्यसलाई पनि विधानमै राख्न माग गरे ।

‘विधान संशोधन गर्दा विधानमै पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ र पार्टी अनुशासनात्मक कारवाही गर्दा प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ भन्ने उल्लेख गर्नुपर्यो’ बैठकमा सहभागि एक नेताले गौतमको भनाई उद्धृत गर्दै भने ।

ओलीले नेता नेपाललाई गद्दार, देशद्रोहीको आरोप लगाउनुका साथै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्ने भन्दै अहिलेसम्म भएका गल्तीमा आममाफी दिने घोषणा गरेका थिए । ओली आफैले संविधान र लोकतन्त्र विरोधी गतिविधि गर्दै दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्ने र जसले संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्यो उसैलाई आममाफी दिने भन्ने काम कम्युनिष्ट पार्टीको सिद्धान्त विपरितको काम भएको टिप्पणी गौतमको रहेको छ ।

ओलीका अभिव्यक्ति र व्यवहार कुनै पनि कम्युनिष्ट पार्टीको विधानमा उल्लेख नभएको र यस्ता आरोपहरू लगाउने नगरिएको भन्दै गौतमले यो विषय आक्रामक रुपमा उठाएपछि बैठकमा एकछिनका लागि सन्नाटा छाएको एमाले स्रोतले जनाएको छ ।

‘वरिष्ठ नेता नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले उहाँलाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्यो’ गौतमले भने, ‘बोल्नुहुँदैन भने किन बोल्नुभयो ? मनपरी गर्न पाइँदैन । त्यसैले पार्टीमा कसैले गल्ति गर्यो भने राजनीतिक कारवाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्