Logo
Logo

सिटी स्क्यान मेसिन खरिदमा ढिलाई, पटकपटक म्याद थप्दा पनि बनेन भवन


हिक्मत बम

2.4k
Shares

धनगढी । अस्पताल प्रशासनको चरम लापरबाहीका कारण सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन अझै जडान हुन सकेको छैन ।

आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद गर्न साढे आठ करोड विनियोजन गरेको थियो । तर, अहिलेसम्म पनि मेसिन ल्याइएको छैन । मेसिन खरिद गर्न नसकेपछि बजेट नै फ्रिज भयो ।

मन्त्रालयले आर्थिक वर्ष ०७७/७८ मा ५० लाख थपेर मेसिन खरिदका लागि नौं करोडको बजेट विनियोजन गर्याे । तर, अस्पताल प्रशासनको चरम लापरवाहीका कारण न सिटी स्क्यान भवन बन्यो, न त मेसिन खरिद नै भयो ।

मन्त्रालयले पटकपटक ताकेता गरेपछि ०७७ साल कार्तिक २५ गते अस्पतालले सिटी स्क्यान मेसिन खरिदका लागि काठमाडौँको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता गरेको थियो ।

पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने सर्तमा म्याक्स मेडिटेक प्रालिसँग अस्पतालले ६ करोड ४६ लाख ८८ हजार ६ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर, मेसिन ल्याउने म्याद सकिएको पाँच महिना बितिसक्दा पनि अझै ल्याउन सकेको छैन । जसले गर्दा बिरामीहरुले उपचारका लागि अर्को प्रदेश धाउनुपर्ने बाध्यता छ ।

सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने भौतिक संरचना अभावले मेसिन ल्याउन नसकेको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जनकारी दिए । उनले भने, ‘एक सय २८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद भइसकेको छ, भवन तयार हुने बित्तिकै जडान हुन्छ ।’

दुई पटक म्याद थप्दा पनि बनेन भवन

सिटी स्क्यान मेसिनको भवन निर्माणका लागि २०७७ असार १२ मा अस्पताल प्रशासन र टीकापुरको इन्द्र धनु अछाम निर्माण सेवासँग मूल्य अभिबृद्धी करसहित एक करोड ५९ लाख ३६ हजारमा ठेक्का सम्झौता भएको थियो । ०७७ चैत्र ११ सम्म काम सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको थियो । तर, ठेकेदार ललित बहादुर कुँवरले समयमै काम सम्पन्न गर्न सकेनन् ।

‘निर्माण कम्पनीको चरम ढिलासुस्तीले समयमै काम सम्पन्न हुन सकेन्, हामीले पटकपटक ताकेता गर्दा पनि काम भएन,’ अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने, ‘भवन निर्माणमा ढिलासुस्ती भएपछि हामीले २०७७ माघ २१ मा पहिलो पटक ताकेता गर्याैं, कामले गति लिएन । हामीले फागुन २६ मा फेरि ताकेता गर्याैं। र, पनि भवन निमार्ण हुन सकेन ।’

निर्माण कार्य नसकिएपछि अस्पताल प्रशासनले २५ असार ०७८ सम्म फेरि म्याद थप गर्याैं । ‘निर्माण ठेकेदार कुँवरले निर्माणमा गति दिन सकेनन्, काममा ढिलासुस्ती देखेर हामीले जेठ १६ मा समयमै काम सम्पन्न गर्न ताकेता गर्याैं’, उनले भने, ‘थपिएको म्याद सकियो । तर, अझै भवन बनिसकेको छैन, अहिले पनि काम भइरहेको छ ।’

दोस्रो पटक तीन महिनाका लागि फेरि म्याद थप गरिएको अस्पतालका लेखा शाखा प्रमुख मदन महराले जानकारी दिए । उनले भने, ‘कोरोना महामारीका कारण ढिलासुस्ती भएको भन्दै निर्माण कम्पनीबाट निवेदन आएपछि हामीले तीन महिनाका लागि म्याद थप गरेका हौँ, यो अवधिमा काम सम्पन्न भइसक्छ ।’

ठेकेदार कुँवरले अहिलेसम्म एक करोड रकम भुक्तानी लगिसकेको अस्पतालका लेखा शाखा प्रमुख महराले जानकारी दिए । उनले भने, ‘पटकपटक गरेर एक करोड बढी रकम भुक्तानी लगिसकेका छन्, ब ५० लाखको हाराहारीमा भुक्तानी गर्न बाँकी छ ।
सटी स्क्यान मेसिन खरिदको रकम भने खातामा नै छ ।’

चर्को शुल्क तिर्न बाध्य

सिटी स्क्यान मेसिन नभएपछि सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा सिटी स्क्यान गर्न बाध्य छन् । अहिले सिटी स्क्यानका लागि सेती पुग्ने बिरामीलाई निजी अस्पतालहरूमा पठाइने गरिएको छ ।

अस्पतालमा मेसिन नआएपछि सेवाग्राहीहरूले आक्रोश पोखेका छन् । धनगढी उपमहानगरपालिका– १०, जुगेडाका पशुपति रानाले भने, ‘अहिले अस्पतालमा आउने बिरामीहरूलाई सिटी स्क्यानका लागि निजी अस्पतालहरूमा पठाइने गरेको छ, यो निकै खर्चिलो छ, हामी सेती प्रादेशिक अस्पतालबाट यो सेवा लिन चाहन्छौँ ।’

बिरामीहरूले निजी क्षेत्रबाट सञ्चालित सिटी स्क्यान सेवा लिँदा सामान्य सिटी स्क्यानका लागि आठदेखि १८ हजारसम्म तिर्न बाध्य छन् । सेती प्रादेशिक अस्पतालमै यो सेवा सुरु भए बिरामीले चार हजारमै सेवा लिन सक्नेछन् ।

अस्पतालमा रहेका डाक्टरहरूको निजी अस्पतालमा लगानी भएका कारण प्रादेशिक अस्पतालमा सिटी स्क्यान खरिद गर्न आनाकानी गरेको सेवाग्राही प्रकाश रावलको आरोप छ । उनले भने, ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति मौलाउँदै गएको छ । यो गलत परम्परा हो ।’

प्रतिक्रिया दिनुहोस्