Logo
Logo

एमालेमा शक्तिशाली अध्यक्षः आन्तरिक लोकतन्त्रमा आंशिक लगाम


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । सात वर्षअघिको नवौं महाधिवेशनबाट निर्वाचित बहुपदीय संरचनाको अभ्यासमा गएको एमाले अब शक्तिशाली अध्यक्षात्मक प्रणाली अघि बढ्ने भएको छ । पदाधिकारीहरू सबै महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुने अभ्यासबाट पछि हट्दै अब अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय सदस्यहरूको मतको आधारमा चयन गर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय कमिटीले सोमबार पारित गरेको संशोधित विधानले विगतमा पार्टीभित्र हुँदै आएको उच्चतम लोकतान्त्रिक अभ्यासलाई केही खुम्च्याउने छ । अब महाधिवेशनबाट अध्यक्ष मात्र प्रत्यक्ष निर्वाचित हुनेछन् । त्यसबाहेकका पदाधिकारीहरू केन्द्रीय कमिटी सदस्यहरूमध्येबाट चयन हुनेछन् ।

‘अध्यक्ष र सदस्य महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुने । अन्य पदाधिकारी कमिटीले निर्वाचित गर्ने’ संशोधित विधानमा छ । यसअघि पदाधिकारीहरू पनि महाधिवेशन र अधिवेशनबाट चयन हुन्थे । महाधिवेशन र अधिवेशनमा प्यानल बनाउन नपाउने व्यवस्था पनि एमालेले गरेको छ ।

पदाधिकारीको संख्या अध्यक्ष–१, उपाध्यक्ष– २, महासचिव–१, उपमहासचिव– २ र सचिव– ७ जना रहने छन् । यसअघि उपाध्यक्ष ५ जना हुन्थे । अब घटेर २ जनामा सिमित गरिएको छ । यसअघि सचिव ५ जना हुन्थे । अब यो संख्या बढेर ७ पुग्ने छ । पोलिटब्यूरोको व्यवस्था हटाइएको छ ।

केन्द्रीय कमिटीमा जस्तै पार्टीका तल्ला कमिटीहरूमा पनि अध्यक्ष बाहेक अन्य पदाधिकारीहरू निर्वाचित हुने छैनन् । उनीहरूलाई कमिटीले चयन गर्नेछ । ‘हामीले निर्वाचनको प्रक्रियालाई केही परिष्कृत गरेका हौ,’ एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने,‘पार्टी सामूहिक नेतृत्वमै चल्छ, पार्टीको प्रमुख नेता अध्यक्ष भएकाले आवश्यकता अनुसार पनि पार्टीमा जिम्मेवारी दिनका लागि पनि यसले सहयोग पुर्‍याउँछ ।’ उनले यो व्यवस्था लोकतान्त्रिक अभ्यास खुम्च्याउन नभई निर्वाचनको तरिकालाई मात्र फरक गर्न खोजिएको दाबी गरे ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्