Logo
Logo

दोस्रो खोपले जगायो आशा


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा ८० वर्षीय वृद्ध हरिबहादुर क्षेत्री सोमबार कोरोनाविरुद्धको खोप लगाउन लामबद्ध हुनुहुन्थ्यो । उहाँले २०७७ साल फागुनमै कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउनुभएको थियो । दोस्रो मात्रा लगाउने पर्खाइमा रहनुभएका उहाँ बल्लबल्ल खोप लगाउन पाउने आशामा हुनुहुन्थ्यो ।

उहाँले पहिले त खोप लगाएर कोरोनाबाट बाँचिन्छ भन्ने सोच्नुभएको थिएन, पछि खोपले मात्र बच्न सकिने रहेछ भन्ने थाहा भइसकेपछि कोभिसिल्ड खोप लगाउनुभएको थियो ।

खोप लगाएर बाँचिन्छ भन्ने के आशा छ भन्ने प्रश्नमा क्षेत्री भन्नुहुन्छ, “पहिले म मात्र होइन बाबु, सबैजना खोप लगाउन अन्योलमा थियौँ । के हो के हो भन्ने थियो तर विस्तारै बुझ्दै जाँदा खोप लगाइसकेपछि कोरोनाबाट मरिने रहेनछ भन्ने बुझियो ।”

अलि चाँडो खोप पाइन्छ भन्ने थियो भन्दै क्षेत्रीले भन्नुभयो, “पहिलो मात्रा खोप लगाएको छ महिनापछि खोप लगाउन पाइयो ।” उहाँमा कोभिसिल्डबाहेकको खोप भए पनि एउटै फर्मुलाबाट बनेको हुनाले खोपले केही असर गर्छ कि भन्ने कुनै डर छैन ।

यस्तै शङ्खमूल बस्ने विष्णुकुमारी शर्मा ७७ वर्षको हुनुभयो । उहाँ पनि खोप लगाउन आतुर हुनुहुन्छ । “बाबु मलाई त छोराले खोप लगाउन ल्याएको हो”, उहाँले भन्नुभयो, “कोरोनाबाट बचिन्छ भन्ने मात्र थाहा छ ।” उहाँले खोप लगाइसकेपछि भने ढुक्क भएको अनुभव सुनाउनुभयो ।

यसअघि पनि आफू घरबाट कहिल्यै बाहिर ननिस्किएको भन्दै उहाँले आफ्नै कोठामा टीभी जोडिदिएकाले सधैँ टीभी हेरेर बस्ने गरेको बताउनुभयो । कोरोनाबाट सधैँभरि धेरै मानिसको मृत्यु भइरहेको भन्ने सुन्दा उहाँलाई दिक्क लागेको छ । उहाँले छोराले कोरोनाबाट बचिन्छ भनेर खोप लगाउन ल्याएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा। झलक गौतमले कोभिसिल्ड लगाएकाका लागि दोस्रो चरणको खोपमा उत्साहजनक ढङ्गले सहभागिता रहेको बताउनुभयो ।

डा. गौतमले हालसम्म सबै ठाउँमा कतिले खोप लगाए भन्ने यकिन तथ्याङ्क आउन नसकेको भन्दै जुन ठाउँमा खोप अभियान सञ्चालन भएको छ, त्यहाँ खोप अभियान प्रभावकारी ढङ्गले सञ्चालन भएको दाबी गर्नुभयो ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्