Logo
Logo

बालुवाटारमा भूमिगत गिरोह


दृष्टि संवाददाता

7.4k
Shares

काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् ।

देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् । स्वकीय सचिवमा सहयोगी भानु देउवालाई नियुक्त गर्ने उनको चाहनामा पत्नी आरजु बाधक बनेकी छन् । उनी भानुलाई कुनै पनि हालतमा नियुक्त गर्ने पक्षमा छैनन् । भतिज प्रकाश देउवालाई स्वकीय सचिव नियुक्त गर्नुपर्ने आरजुको अडानका कारण सचिवालय रिक्त भएको हो ।

यसबाट बालुवाटारमा दुई गुट रहेको प्रष्ट हुन्छ । देउवालाई महान बनाउने नाममा आरजुको योजनामा ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने …’ भिडियो बनाएर सामााजिक संजालमा फैलाएका छन् । यसको चौतर्फी बिरोध भएको छ । सचिवालयले पूर्णता नपाउँदै बालुवाटारमा कुन गिरोह पसेर उल्कापात मच्चाएको हो भन्ने कुरा स्वयं प्रधानमन्त्रीले पनि थाहा पाएका छैनन् ।

२०४८ सालमा झापामा भएको कांग्रेस महाधिबेशनमा वीपी कोइरालाले शेरबहादुर देउवाको प्रशंसा गरेको कुरा देउवाकै गृहजिल्ला डडेल्धुराका एक नेताको मुखबाट बोलाइएको छ । भिडियो बनाउनेहरुले वीपीको निधन २०३९ सालमै भएको कुरा पनि थाहा नपाउनुले आरजुले कस्तो टिम बनाएर काम गर्दै आएकी छन् भन्ने प्रष्ट हुन्छ । देउवाको भूमिगत सचिवालयले उनको गुणगान गाउँदै बनाएको भिडियो सन्देश कांग्रेसवृत्तमा हाँसोको बिषय भएको छ।

महामन्त्री पूर्णबहादुर खड्काले ट्वीट गर्दै यसलाई गाइजात्राको संज्ञा दिएका छन् । जबकि, उनी नै सरकार संचालनका लागि गठित उच्चस्तरीय कार्यलदलको संयोजक छन् । उनलाई पनि देउवाले खासै वास्ता नगरेपछि यस्तो ट्वीट गरेका हुन् । खड्काले उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएपछि पनि फेसबुकमा असन्तुष्टी जनाएका थिए ।

कार्यदलको जिम्मेवारी खड्कालाई सुम्पेपछि सहमहामन्त्री प्रकाशशरण महत देउवासँग असन्तुष्ट भएका छन् । उनी आरजुसँग मिलेर देउवाविरुद्ध असन्तुष्ट पोखिरहेका छन् । महामन्त्री खड्का भने उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्ने घोषणा गरेपछि देउवासँग अब आफ्नो सम्बन्ध राम्रो हुने आशमा बसेका छन् ।

प्रथम महिला आरजु राणा देउवाको ध्यान सम्पत्ति शुद्धिकरण बिभाग लगायतको नियुक्तिमा रहेको स्रोतले बताएको छ । जसबाट आगामी निर्वाचनमा आर्थिक संकलन गर्न सकियोस् र सम्पत्ति शुद्धीकरणमा छानबनिमा रहेकाहरुबाट पनि चुनावमा खर्च उठाउन सकियोस् भन्ने छ । यसका लागि आरजुका नातेदार सल्बलाइसकेका छन् । आरजु निकट नातेदारहरुले शहरी विकास, भौतिक पूर्वाधार मन्त्रालयका इञ्जिनियरहरुसँग सेटिङ मिलाएको स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार ऊर्जा र अर्थमा पनि आरजु नातेदारहरुको चासो छ, तर ती मन्त्रालय माओवादीको जिम्मामा परेकोले बिचौलिया छटपटीमा छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री निवासको आईटीसम्बन्धी सम्पूर्ण उपकरणको ‘पासवर्ड’ ओलीका आइटीविज्ञ असगर अलीसँग भएकोले त्यहाँको ‘गोप्य’ गतिविधि असुरक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्