२०७३ असार २३ गते प्रधानमन्त्री निवास बालुवाटार पुगेर बालगुरु आदित्यले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति देश र जनताको ठूलो आशा र भरोसा भएको आशय व्यक्त गरेका थिए । गुरु आदित्यले संविधान निर्माणपछिको प्रथम प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई भन्दै छरिएर रहेको राजनीतिक अराजकतालाई समेटी देशलाई सही मोडमा ल्याउन आग्रह गर्दै जनतालाई न्याय दिन कामनासमेत गरेका थिए ।
बालगुरु आदित्यका यी शब्दमा धेरै कुरा समेटिएको छ । जुन कुरालाई ओलीले आत्मसात गर्न नसक्दा देशमा भाडभैलो स्थिति सिर्जना भयो । त्यति मात्र होइन, बालुगरु आदित्यले बालुवाटारमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने र सरकारमा जो रहे पनि देश र जनताप्रतिको दायित्वबोध गर्नुपर्ने कुरामाथि जोड दिँदै प्रधानमन्त्री ओलीलाई ‘इगो’ छाडिदिऔं, अबको पाँच वर्ष सबैले आफ्नो लागि नभएर देशका लागि सोचौं भन्दै आग्रह गरेका थिए । साथै, देश बिग्रिएकोमा चिन्ता लिँद गुरु आदित्यले ‘देश साह्रै बिग्रियो, सोचौं, हेरौं लाचार नबनौं, केही गरौं । कति स्रोत छ कति साधन छ, जनशक्ति खेर गइरहेको छ । लोभ नगरौं, मोह छाडौं, अनि हेरौं कति शक्ति जुट्छ, अति स्वतः समृद्धि र विकास भित्रन्छ’, भनेका थिए ।
बालगुरु आदित्यलाई मिडियाले एकपटक ‘गुगल ब्वाय’ भनेर पनि चर्चामा ल्याए । उनको अचम्मको क्षमताले धेरैलाई आश्चर्यचकित बनाएको छ । त्यही कुरा सुनेर प्रधानमन्त्री ओलीले उनलाई बालुवाटारमा आमन्त्रण गरेका थिए । ओलीको साथमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि सँगै थिए ।
२०७३ सालमा यी तीन जना नेतालाई साक्षी राखेर त्यतिबेला भनेका शब्द केलाउने हो भने त्यसभित्रको सत्यता भेट्टाउन सक्छौं । बालगुरु आदित्यले भनेको राष्ट्रिय सहमतिको सरकार अहिले बनेको छ । जुन कुरा स्वयं प्रधानमन्त्री देउवाका लागि पनि कल्पना बाहिरको कुरा थियो ।
किनभने, २०७४ मंसिर १०–११ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले–माओवादी गठबन्धनले करिब दुईतिहाइ मत पाएका थिए । संघमा मात्र होइन, प्रदेशमा समेत कांग्रेस अल्पमतमा थियो । त्यतिबेलाको हार स्वीकार्दै नेपाली कांग्रेसका सभापति देउवाले आफ्नो पार्टी पाँच वर्षसम्म रचनात्मक प्रतिपक्षमा बस्ने घोषणा गरेका थिए । र, देउवाले भनेजस्तै तीन वर्ष देश प्रतिपक्षविहीनजस्तै बन्यो ।
बालगुरु आदित्यले यो पनि भनेका थिए– ‘नवीनतम परिवर्तनका लागि द्रुत विकास चाहिन्छ, जसका लागि कुशल नेता चाहिन्छ, जो क्रान्तिकारी सोच भएका जनताबाट छनोट भएको हुन्छ ।’
नभन्दै २०७४ सालको निर्वाचनमा नेपाली जनताले ‘कम्युनिष्ट’ पार्टीलाई इतिहासमै पहिलोपटक सगरमाथाको शिखरमा पुर्याए । जननेता मदन भण्डारीसँगको अन्तर्वार्तामा ‘न्यूज विक’ पत्रिकाको शीर्षक थियो– ‘कार्ल माक्र्स लिभ इन नेपाल ।’ जनताको बहुदलीय जनवादमार्फत जननेता मदन भण्डारीले प्रतिस्पर्धाबाटै कम्युनिष्ट पार्टीले दुईतिहाइ मत ल्याएर राजनीतिक स्थिरता, आर्थिक विकास र समाजवादको लक्ष्य तय गर्न सक्ने विश्वास लिएका थिए ।
जननेता भण्डारीको दासढुंगामा जीप दुर्घटना भएर निधन भएपछि दुईतिहाइको सरकारको नेतृत्वमा भण्डारीका उत्तराधिकारी ओलीले गरेका थिए । तर, गुरु आदित्यले भनेझैं ‘इगो’ त्याग्न नसक्दा दुईतिहाइ मत भुइँ न भाँडो भयो । देश बिग्रियो, नेता लाचार भए । २०७३ सालदेखि अहिलेसम्मको राजनीतिक घटनाक्रम हेर्दा बालगुरु आदित्यको शब्दमा शक्ति रहेछ भन्ने कुराको पुष्टि हुन्छ ।
आज ‘इगो’ले पाँच वर्षका लागि नेपाली जनताले जनादेश दिएका प्रधानमन्त्री ओली तीन वर्षमै भूतपूर्व प्रधानमन्त्री बनेका छन् । अझै उनमा ‘होस्’ आएको छैन । आफ्नै पार्टी विभाजनको संघारमा छ । ढिलोचाँडो एक वर्षभित्र निर्वाचन हुने पक्का छ । यस्तो बेला बालकोटको बार्दलीमा बसेर उनले बाँसुरी बजाइरहेका छन् । उनका मौसमी कार्यकर्ता त्यसैमा रमाइरहेका छन् । पक्कै पनि यस्तो प्रवृत्ति र चरित्रलाई कम्युनिष्ट भन्न मिल्दैन ।
यदि उनी सच्चा कम्युनिष्ट भएको भए कम्युनिष्ट पार्टीलाई जनताले दिएको दुईतिहाइ मतमाथि तातोपानी खन्याएर भुत्ल्याउने थिएनन् । अहिले पनि समय बितिसकेको छैन । दोस्रोपटक प्रधानमन्त्री भइसकेपछि अब मैले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको दाबी गर्ने छैन भनेका थिए । एकताका बाधक बनेका ओली आफूले बोलेका कुरामा मात्र इमान्दार भइदिए एमाले एकतालाई कसैले रोक्न सक्दैन । एमालेमा समस्या, विचार, सिद्धान्त, पद्धति कहीँ छैन । छ, त एउटा व्यक्तिको ‘इगो’मा ।