Logo
Logo

कक्षपतिको अन्त्येष्टि भोलि


दृष्टि संवाददाता

18.2k
Shares

काठमाडौं । मुखको क्यान्सर रोगको उपचार गर्न बैंककस्थित बुमरुङगार्ड अस्पतालमा करिब ५ महिना अगाडि भर्ना हुनुभएका प्रतिष्ठित पर्यटन व्यवसायी श्याम कक्षपतिको हिजो सोमबार बैंककको समयअनुसार दिउँसो २ बजे निधन भयो ।

उहाँको पारिवारिक स्रोतका अनुसार दिवंगत कक्षपतिको भोलि बुधबार बैंककमै अन्त्येष्टि गरिने भएको छ । उहाँको उपचारमा सँगै बैंकक जानुभएकी छोरी नयनतारा कक्षपतिले उहाँको पार्थीव शरीरमा दागबत्ती दिनुहुनेछ ।

उहाँको पार्थीव शरीरलाई काठमाडौंमा ल्याएर पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने पारिवारिक सोच भए पनि कोभिडका कारण बैंकक–काठमाडौं हवाई सेवा बन्द भएका कारण बैंककमै हिन्दू विधिअनुसार अन्तिम संस्कार गरिने भएको हो ।

मुखको क्यान्सर ठिक हुँदै गएपछि कक्षपतिलाई साउनको अन्तिम साता काठमाडौं ल्याउने तयारी हुँदै थियो । तर, दुई दिन अगाडि उहाँको छातीमा समस्या आएपछि पुनः अस्पताल भर्ना गरिएको थियो । पारिवारिक स्रोतका अनुसार उहाँको छातीमा निमोनिया देखिएको थियो । त्यही कारण हिजो दिउँसो उहाँको उपचार गर्दागर्दै निधन भयो ।

कक्षपतिको निधनबाट सिंगो पर्यटन क्षेत्र स्तब्ध र मर्माहत भएको छ । ‘हान’का पूर्वअध्यक्षसमेत रहनुभएका कक्षपति रेवानका संस्थापक हुनुहुन्थ्यो । रत्नपार्कको ‘क्याफे द पार्क’बाट नेपालमा ‘क्याफे’ संस्कारको विस्तार गर्ने उहाँ नाङ्लो ग्रुपका अध्यक्ष हुनुहुन्थ्यो ।

सादा जीवन, उच्च विचारलाई अँगाल्दै आफ्नो व्यावसायिक यात्रामा सफल कक्षपतिले दक्षिण एशियामै पहिलोपटक ‘बहिरा’ वेटरलाई रोजगारी दिएर समाजसेवीको उत्कृष्ट नमूना प्रस्तुत गर्नुभएको थियो । उहाँको निधनले देशले अपूरणीय क्षति व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्