Logo
Logo

माधव नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने


दृष्टि संवाददाता

6.9k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि छलफल चल्दै गर्दा एकपक्षीय रूपमा विधान महाधिवेशन गर्न खोजेपछि नेपाल पक्षले देशैभरी समानान्तर कमिटीहरू गठन गर्ने रणनीति बनाएको हो ।

अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने र अध्यक्षलाई शक्तिशाली बनाउन ओली पक्षले विधान नै संशोधन गर्न खोजेपछि नेपाल पक्षले पार्टी एकताकोे आधार समाप्त भएको जनाएको छ ।

सोमबारको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गरेको ओली पक्षले २७ र २८ भदौमा विधान महाधिवेशन गर्दैछ ।

नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले ओली पक्षको गतिविधिले पार्टी एकताको सम्भावना नरहेको बताए ।

ओली पक्षले एकपक्षीय रूपमा विधान संशोधन र विधान महाधिवेशन गर्ने लगायतका क्रियाकलापले पार्टी एकता जोगाउने भन्दा पनि विभाजनतर्फ नै उन्मुख रहेको खतिवडाले बताए ।

‘केपी ओलीले पार्टी विभाजन गर्ने गतिविधि रोक्नुभएन । पार्टी एकताका लागि छलफल चल्दै गर्दा एकपक्षीय रुपमा मनलाग्दी रुपमा विधान संशोधन गर्न खोज्नुले पार्टी विभाजन हुन्छ’ खतिवडाले भने, ‘अब हामी केन्द्रदेखि स्थानीय तहसम्म पार्टी सहित जनवर्गीय संगठनको समानान्तर कमिटी बनाउँदै अगाडी बढनेछौं । कमिटीहरु गठन गरिसकेपछि केपी ओलीहरुलाई दुई तीन दिनको समय पार्टी एकताका लागि अन्तिम समय दिन्छौं, उहाँहरु सुध्रिनुभएन भने नयाँ दल घोषणा गरेरै अगाडी बढछौं ।’

ओलीको कार्यशैलीले पार्टी नै विभाजन हुने निश्चित भएपछि नेपाल पक्षका नेताले देशैभरी समानान्तर कमिटी गठन गर्दै भेला, प्रशिक्षण गर्ने बताईएको छ ।

एमाले स्रोतका अनुसार वरिष्ठ नेता नेपालले आफूपक्षी नेताहरुलाई देशैभरी पार्टीका साथै जनवर्गीय संगठनहरुको समानान्तर कमिटीहरू गठन गर्दै संगठन विस्तार गर्न आन्तरिक निर्देशन दिईसकेका छन् ।

ओलीपक्षका नेता प्रदीप ज्ञवालीले पार्टी एकताको नाममा पार्टीका गतिविधि अब रोक्न नसकिने बताए । पार्टी एकताबद्ध बनाउँने नाममा पार्टीका गतिविधि रोकेर कुर्न सक्ने सम्भावना नरहेको बताउँदै उनले विधान महाधिवेशन तोकिएकै समयमा हुने बताए ।

‘पार्टी एकताका नाममा अनेक सर्तहरू आउने र पार्टी एकता नै गर्न नचाहेपछि कसरी हुन्छ ? पार्टीका गतिविधि रोकेर पार्टी एकताबद्ध हँुदैन । १० बुँदे सहमति अनुसार पार्टीले निर्णय गरेर अगाडी बढीसकेपछि अब बैठकमा सहभागी हुनुपर्ने हो’ ज्ञवालीले भने, ‘केही साथीहरू एमालेभित्र बस्नै नचाहेकाले उहाँहरुलाई जबरजस्ती ल्याउन सकिदैन । एमालेमै रहने र काम गर्ने बिषयमा कसैलाई रोक लगाईएको छैन ।’

ओलीको एक पक्षीय निर्णयले विगत लामो समय देखि जारी पार्टीलाई एकता बनाउने काम अब विभाजनतिर उन्मुख भएको छ । एकपक्षले अर्कोलाई आरोप लगाउँदै पार्टी विभाजन गर्न लागिको दोषारोपण लगाउन थालेका छन् ।

ओलीले नै एमालेमा दुई अध्यक्ष राखेर पार्टी एकता गर्नुपर्ने प्रस्ताव विघठित कार्यदलका सदस्यलाई गरेका थिए । सोही अनुसार छलफल अगाडी बढदै जाँदा नेपालले समान अधिकार सहित संयुक्त हस्ताक्षर चल्ने गरी पार्टी एकता हुनुपर्नेमा सहमत भएका थिए । तर, यस बिषयमा ओली र नेपाल बीच नै छलफल नहुदै यो प्रस्तावले समेत पुर्णता पाउन सकेन ।

नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्यले १० बुँदे प्रस्तावमा आवश्यकता अनुसार परिमार्जन गर्दै ओली र नेपाल दुबैको संयुक्त हस्ताक्षर हुने गरी पार्टी एकता हुनुपर्ने बताईन् । आफूहरुको पहिलो प्राथमिकता पार्टी एकता नै रहेको बताउँदै उनले ओली पक्षबाटै पार्टी विभाजन गर्ने कामको शुभारम्भ भएको बताईन् ।

‘हाम्रो पहिलो प्राथमिकता नै पार्टीलाई एकताबद्ध बनाउने हो । यदी केपी ओलीहरुले पार्टी एकता नगरी अगाडी बढ्ने हो भने हाम्रो सामु अर्को विकल्प भनेको नयाँ दलको घोषणा नै हो ।’ शाक्यले भनिन्, ‘केपी ओलीको एकपक्षीय गतिविधि र सरकारमा हुँदा जसरी सबै अधिकार आफूमा केन्द्रीत गर्न खोजिएको थियो, पार्टीमा पनि विधान संशोधन गरेर सबै अधिकार अध्यक्षमा केन्द्रीत गर्न खोज्न स्वीकार्य हुनसक्दैन ।’

ओली पक्षले सच्चिएर अगाडी नबढने हो भने स्थायी कमिटी बैठक बसेर देशैभरी अब संगठन विस्तार गरिने उनले बताईन् । सबैको योगदान, त्याग, तपस्या र मिहिनेतले एमालेको निर्माण भएकाले कुनै एक व्यक्तिको मनोमानी स्वीकार्य हुन नसक्ने उनले चेतावनी दिईन् ।

ओलीपक्षका नेता शेरबहादुर तामाङले पार्टी एकताका लागि नेपाल पक्षलाई नपर्खिने बताए । पार्टी एकताको नाममा पार्टीको गतिविधिलाई रोक्न नसक्ने बताउँदै उनले विधान महाधिवेशन सकेर नेतृत्व चयनका लागि १० औं महाधिवेशनको मिति तोकेर अगाडी बढने बताए ।

‘विधान महाधिवेशन पनि रोकिदैन, नेतृत्व चयनका लागि १० औं महाधिवेशनको अब मिति तोकिन्छ’ तामाङले भने, ‘पार्टीलाई एकताबद्ध बनाउँने ढोका बन्द गरिएको छैन् । १० बुँदे सहमती अनुसार पार्टी अगाडी बढीरहेको छ । अब पार्टी एकताको नाममा धेरै पर्खेर पार्टीको गतिविधि रोक्न सकिदैन् ।’

एमालेमै बसेर काम गर्न चाहनेका लागि कहिकतै बन्देज नलगाईएको बताउँदै उनले यदी कसैले एमालेमा बस्दैनौ भन्यो भने जबरजस्ती रोकेर राख्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्