Logo
Logo

संक्रमितले अस्पताल भरिभराउ


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । दुई सातायता कोरोना संक्रमण बढेपछि उपत्यकाका कोभिड अस्पतालमा गम्भीर बिरामीको चाप पनि वृद्धि भएको छ । त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार चारपाँच दिनयता गम्भीर लक्षण भएका कोरोना संक्रमितले आइसियु र एचडियु भरिइसकेको छ ।

यो अस्पतालमा ४० बेडको आइसियु, ३० वटा भेन्टिलेटर र १० वटा एचडियु कुनै पनि खाली छैनन् । जनरल बेडमा पनि ९० जना भर्ना भइसकेका छन् । ‘एक सातायता बिरामीको संख्या ह्वात्तै बढेको हो’, उनले भने ।

केही दिन यता छिमेकी र तराईका जिल्लाबाट रेफर भएर आउने बिरामी र सुरक्षाको खोजीमा आफैं भर्ना हुन आउने बिरामीका कारण अस्पताल भरिभराउ हुँदै गएको डा. बमले बताए  ।

उनका अनुसार काठमाडौंनजिकका जिल्ला धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका साथै सोलुखुम्बु, मकवानपुर, रौतहट, बारा, धनुषा, पर्सा र गोरखाबाट बिरामी आइरहेका छन् । यी बिरामी सबैजसो अक्सिजन दिनुपर्ने अवस्थाका छन्  । बिरामी भरिँदै गएपछि अन्य वार्डलाई कोभिड वार्डमा रूपान्तरण गर्ने कार्य भइरहेको डा। बमले जानकारी दिए।

वीर अस्पतालमा पनि चारपाँच दिनदेखि भर्ना हुने कोरोना संक्रमित र ओपिडीमा उपचार गर्नेहरूको संख्या पनि बढेको अस्पतालका फिजिसियन डा। धु्रव गैरेले बताए । उनका अनुसार उपचारमा आउनेहरू धेरैजसो काठमाडौं उपत्यकाका छन् ।

दैनिक १० देखि १५ जना बिरामी भर्ना भइरहेको उनले बताए । केही दिनयता अस्पतालमा देखिएको बिरामीको चापले तेस्रो लहर सुरु भएको संकेत गरेको डा. गैरेले बताए । वीर अस्पतालको आइसियु कक्ष कहिल्यै खाली हुन नपाएको प्रशासकीय प्रमुख डा. भुपेन्द्र बस्नेतले बताए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्