Logo
Logo

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत, एमालेद्धारा बैठक बहिष्कार


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । बैठक आजै पौने तीन बजे बस्नेछ ।

प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । आजै बस्ने बैठकमा राजिनामा दिएका मुख्यमन्त्री पोखरेलले सभामा उठेका प्रश्नको जवाफ दिनेछन् ।

नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका छन् । उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेश गरे ।

आज बिहान बसेको एमाले संसदीय दलको बैठकले विशेष अधिवेशन आह्वानमा संवैधानिक प्रश्न उठाउँदै उपस्थित नहुने निर्णय गरेको थियो । सोही निर्णयअनुसार एमालेले प्रदेशसभाको विशेष अधिवेशन बहिष्कार गरेको छ ।

मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनुअगावै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएका थिए । प्रदेशसभाको बैठक चल्दै गर्दा उनी प्रदेश प्रमुख अमिक शेरचनलाई राजिनामा बुझाएपछि बैठकमा विपक्षी गठनले आलोचनासमेत गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमोसहितको विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ ।

लुम्बिनीमा कसको मत कति ?

लुम्बिनी प्रदेश सभामा ८६ सांसद छन् । केही सांसद कारवाहीमा परेका र केहीले राजिनामा दिएकाले अहिले ७९ मत मात्रै गणना हुन्छ । ४० सांसदमध्ये दीर्घनारायण पाण्डे र अमर डाँगीले राजीनामा दिएकाले एमालेको अहिले सांसद संख्या ३८ मात्रै हो ।

काँग्रेसका १९ सांसद छन् । दिनेश पन्थी र दधिराम न्यौपाने कारवाहीमा परेपछि माओवादी केन्द्रसँग २० मध्ये हाल १८ जना सांसद छन् । त्यस्तै जसपाको ६ सांसदमध्ये ३ जनालाई कारवाही गरिएकाले हाल जसपाको मत ३ मात्र हो । राजिनामा दिएका मुख्यमन्त्री पोखरेललाई समर्थन गर्दै प्रदेश सरकारमा सहभागी जसपाका सांसद बिजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय कारवाहीमा परिसकेका छन् । लुम्बिनी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाको १ मत छ ।

लुम्बिनी प्रदेशमा रहेका ७९ सांसदमध्ये एमालेसँग ३८ सांसद मात्रै हुन् । काँग्रेस, माओवादी, जसपा र जनमोर्चाको संयुक्त मत ४१ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्