Logo
Logo

लुम्बिनीमा गठबन्धन सरकारः बहुमतको कमजोर धरातलमा चुनौतीका चाङ


252
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका केसीले बिहीबार अपराह्न ५ बजे नै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार समाले । शपथ ग्रहण समारोहमा प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएनन् ।

पदभार ग्रहण गरेपछि मुख्यमन्त्री केसीले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक सर्वोच्चता अंगालेर रचनात्मक ढंगले अघि बढ्ने बताए । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा र संघीयता कार्यान्वयनसँगै प्रदेशको सर्वोपरी विकासका लागि आफू मुख्यमन्त्री बनेको प्रतिक्रिया उनले दिए ।

केसी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश सरकारको बाँकी १६ महिना माओवादी केन्द्र र कांग्रेसले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सुरुको ८ महिना मुख्यमन्त्री केसी र त्यसपछि आफूले सरकारको नेतृत्व गर्ने बताए। गठबन्धनलाई बलियो बनाउन उचित ‘पावर सेयरिङ’ गरिने उनले बताए ।

मुख्यमन्त्री पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ३ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए । गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित सरकार गठनको दाबी पेस गरेको थियो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्