काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएको बैठक शुक्रबार ११ बजे पुनः बस्ने भएको हो ।
विहिबारको बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल केन्द्रित भएको थियो । बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए ।
बैठकमा समितिका सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा व्यक्त गरेका थिए । यस्तै बैठकमा उपसभापति तथा अन्तर पार्टी समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका प्रस्तुत गरेका थिए । हिजो बैठक यी नै तीन विषयमा केन्द्रित भएको छ । बिहीबारको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य लेखक, ढुङ्गाना, परियार, पौडेल, गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी, कर्णबहादुर बुढा र चौधरीले आ–आफ्नो धारणा राखेका थिए ।
कांग्रेसले संसद् विघटनको असंवैधानिक कदमविरुद्धमा ऐक्यबद्ध गठबन्धनका राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज र सचेत नेपालीको साझा भावना र संविधानको मर्मअनुरुप फैसला आएको निष्कर्ष निकालेको छ ।