Logo
Logo

कांग्रेसलाई महाधिवेशनको नयाँ कार्यतालिका ल्याउन सकस


819
Shares


काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद महाधिवेशन नै अनिश्चित बनाएको छ । केही समययता क्रियाशील सदस्यता विवाद समाधान गर्न लगातार छलफल भइसकेको छ । तर, समाधान हुन सकेको छैन । यसै सन्दर्भमा छलफल गर्न शनिबार पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बिहीबारदेखि जारी बैठक शनिबार दिउँसो २ बजे बस्ने भएको छ । आजको बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिएका छन् ।

उनका अुनसार शनिबार बस्ने बैठकले १४औँ महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्न सक्ने सम्भावना छ । तर, बैठकमा कार्यतालिका पेस भएको छैन । त्यसैले भनिएजस्तो आज पनि नयाँ कार्यतालिका पेस हुने सम्भावना कम देखिन्छ । शुक्रबार नै महाधिवेशनको नयाँ कार्यतालिका आउने बताइएको थियो । तर, बैठकमा पेस नभएकाले त्यसबारे छलफल नै नगरी बैठक सकिएको थियो ।

भदौ १६–१९ का लागि निर्धारित १४औँ महाधिवेशन सार्ने सम्बन्धमा काँग्रेसभित्रे मतभेद छ । बिहीबार र शुक्रबारको बैठकमा आफ्ना धारणा राखेका केन्द्रीय सदस्यहरूमा समेत मत विभाजन देखिएको थियो ।

संस्थापन पक्ष आउँदो मंसिरभित्र महाधिवेशन गर्नेगरी धारणा आइरहेको छ भने संस्थापनइत्तरका समूह असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । संस्थापन पक्षका नेताहरूले २३ भदौमा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने बताउँदै आएका छन् । तर, इत्तरपक्षले २३ भदौबाट महाधिवेशन प्रक्रिया आरम्भ गरी दसैँअघि सम्पन्न गर्नेगरी नयाँ कार्यतालिका ल्याउन अनौपचारिक प्रस्ताव राख्दै आएका छन् ।

बैठकमा आउने केन्द्रीय सदस्यको. रायलाई समेटेर नयाँ कार्यतालिका ल्याउने तयारी गरिएको छ । शुक्रबार राय राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले अहिलेको अवस्थामा निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएको बताएका थिए ।

महामन्त्री पूर्णबहादुर खड्काका अनुसार शनिबारको बैठकमा नयाँ कार्यतालिका आउने सम्भावना छ । ‘केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखिराख्नु भएको छ’ उनले भने, ‘उहाँहरुले धारणा राख्नेक्रम सकिए आजै नयाँ कार्यतालिका बैठकमा पेस हुनेछ ।’ महाधिवशेनको नयाँ कार्यतालिकाबारे सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै मतभेद रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्