Logo
Logo

गण्डकी प्रदेशमा एमालेले गठन गर्यो ‘छाया सरकार’

छाया सरकारबाट पुर्वमुख्यमन्त्री गुरुङ आउट


882
Shares

पोखरा । नेकपा (एमाले)ले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ । सरकारको कामलाई निगरानी गर्दै प्रतिपक्षीको भूमिकालाई प्रभावकारी बनाउँने उदेश्यले एमालेले छाया सरकार गठन गरेको जनाएको छ ।

गण्डकी प्रदेशमा साढे तीन वर्षसम्म एमालेकै सरकार थियो । एमाले केन्द्रीय सचिव समेत रहेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री थिए । छाया सरकारमा पुर्व मुख्यमन्त्री गुरुङलाई कुनै जिम्मेवारी नदिइ आउट गरिएको छ । अहिले काँग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन् । सरकारबाट बाहिरिएसँगै एमालेले सरकारको कामलाई निगरानी गर्नका लागि छाया सरकार गठन गरेको गण्डकी प्रदेशसभाका सांसद राजीव पहारीले बताए ।

एमाले गण्डकी प्रदेश सभाका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले पार्टीले सबै मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह गठन भएको बताए । अधिकारीका अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकमा मोहन प्रसाद रेग्मीलाई चयन गरिएको छ । सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ चयन भएका छन् ।

भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्व मन्त्री रामशरण बस्नेतको संयोजकत्वमा रोशन गाहामगर र प्रभा कोइराला सदस्य रहेका छन् । संयोजक बस्नेत यस अघि सोही मन्त्रालयमा मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निगरानीका लागि पूर्व मन्त्री विकास लम्साललाई संयोजकत्वमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य रहेका छन् । संयोजक लम्साल यस अघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका थिए ।

सामाजिक विकास मन्त्रालयको संयोजक नरदेवी पुन मगरलाई चयन गरिएको छ । सदस्यमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट रहेका छन् । संयोजक पुन यस अघि सामाजिक विकास मन्त्री समेत बनेकी थिइन् ।

पछिल्लो सरकार गठन भएपछि बनेका नयाँ कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजक चन्द्र मोहन गौचन बनेका छन् । सदस्यमा पुष्पा केसी भण्डारी चयन भएकी छन् । त्यस्तै अर्थ मन्त्रालयको संयोजकमा इन्द्रलाल सापकोटा र सदस्यमा कृष्ण बहादुर थापा चयन भएका छन् ।

भूमि, व्यवस्था, कृषि मन्त्रालयको संयोजकमा मित्रकुमारी गुरुङ चयन भएका छन् । सदस्यमा मनबहादुर गुरुङ र महेन्द्र थकाली चयन भएका छन् । ऊर्जा, खानेपानी मन्त्रालयको संयोजकमा मीनप्रसाद गुरुङ र सदस्यमा धनञ्जय दवाडी चयन भएका हुन् । पछिल्लो मन्त्रालय फुटाएर बनाइएको स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको संयोजकत्वमा राजीव पहारी, सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्