Logo
Logo

पूर्वीय दर्शनका आरोग्यता प्राप्ति विधिलाई नयाँ स्वरूपमा अघि बढाइने


252
Shares

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले योग, ध्यानलगायत पूर्वीय दर्शनका आरोग्यता प्राप्ति विधिलाई नयाँ स्वरूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको जोखिम कायम रहेको र तेस्रो लहरले बालबालिकालाई समस्यामा पार्छ भनिएका बेला विश्व शान्ति तथा अध्यात्म विकास समाजले जुम प्रविधिबाट बालबालिकालाई योगाभ्यास गराउन आयोजित कार्यक्रमको उद्घाटन समारोहमा उहाँले योग र ध्यानलाई पनि प्रदेश सरकारले पाठ्यक्रममा समावेश गरेको जानकारी गराए ।

देशभर योग शिक्षक बढाएर नियमित योगाभ्यासका माध्यमबाट मानिसलाई निरोगी बनाउन सकिने भएकाले तीनै तहका सरकार र यस विषयमा काम गर्ने सङ्घसंस्थाको ध्यान यसतर्फ जानुपर्ने मन्त्री फुँयालको भनाइ थियो । यसका लागि बागमती प्रदेश सरकारका तर्फबाट सहयोग गरिने उनको प्रतिबद्धता छ ।

समाजका संस्थापक अध्यक्ष आचार्य राजन शर्माले नेपाललाई योगभूमि बनाउन देश बाहिरै रहेर पनि अभियान चलाइएको बताए । अष्ट्रेलियामा स्थापना भएको समाजले योग, ध्यानलगायत पूर्वीय दर्शनका माध्यमबाट सुख, शान्ति एवं आरोग्यताका लागि काम गर्दै आएको छ ।

सो अवसरमा अध्यक्ष शर्माले योग चेतनाका राजनीतिकर्मी भएपछि देश योगभूमि बन्ने भएकाले यसतर्फ अभियान चलाउन लागिएको जानकारी दिए। प्रत्येक दिन बिहान जुम प्रविधिबाट सिकाइने योगाभ्यासमा पहिलो दिन नै ३०० बालबालिका सहभागी भएका छन् । योगाभ्यासमा जुम प्रविधिका माध्यमबाट सहभागी हुन चाहने बालबालिकाले निःशुल्करूपमा जोडिन सक्ने समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्