Logo
Logo

अफगानिस्तानलाई इस्लामिक राष्ट्र घोषणा गर्ने तयारी


2.2k
Shares

एजेन्सी । अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरुले कब्जामा लिएका छन् ।

उनीहरु आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् । त्यसलगत्तै उनीहरुले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ घानीले देश छोडिसकेका छन् ।

तर अफगानिस्तानको नेशनल रिकन्सिलिएसन काउन्सिलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले आफ्नो फेसबुक पेजमा राष्ट्रपति घानीले देश छोडेका भन्दै त्यसको भिडियो पोष्ट गरेका थिए । तर उनी कहाँ गए भन्ने कसैलाइ थाह छैन ।

अफगानिस्तानका राजधानीतर्फ तालिवानी विद्रोहीहरुले प्रवेश गरेपछि अफगानिस्तानका गृहमन्त्रीले अफगान सरकार शान्तिपूर्णरुपमा तालिबानीहरुलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

आइतबार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिहरुबीच शुरु भएको वार्ता सोमबार बिहानसम्म जारी रहेको बताइएको छ ।

सो वार्तामा तालिबानीहरुलाई वैधानिकरुपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भए पनि यस विषयमा सरकारकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

उता तालिबानीहरुले भने अब छिट्टै तालिबानीहरुले अफगानिस्तानको सत्ता सम्हाल्ने बताएका छन् । उनीहरुले अब छिट्टै इस्लामिक राज्य स्थापनाको घोषणा गर्ने बताएका हुन् ।

तालिबानहरुले आफ्ना लडाकूहरुलाई राजधानी काबुल प्रवेश गर्न अनुमति दिएका थिए । त्यसपछि आइतबार साँझ नै उनहरु काबुल आएका हुन् ।

यहाँ हिंसा हुने खतराले गर्दा राति ९ बजेदेखि बिहानसम्म कफ्र्यू आदेश जारी गरिएको बताइएको छ । आइतबारदेखि सोमबार बिहानसम्म पनि अफगानिस्तानबाट विभिन्न देशहरुले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन् ।

त्यसैगरी अफगानिस्तानका कैयौँ विदेश नागरिक आफैँ पनि आफ्ना देश फर्किरहेका छन् । उता तालिबानहरुले भने कसैसँग बदला नलिने भन्दै आफूहरुसँग नडराउन भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्