Logo
Logo

देश छाडेर भागेका घानीले चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगेको खुलासा


12.3k
Shares

काठमाडौं । काबुलस्थित रुसको राजदूतावासले अफगानिस्तानका राष्ट्रपति अशरफ घानीबारे एक सनसनीपूर्ण दाबी गरेको छ । ‘घानी देश छाडेर भाग्दै गर्दा आफ्नो साथ चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगे । पैसा यति धेरै थियो कि हेलिकप्टरमा नअटेपछि विमानस्थलमा नै छाडियो ।’ सोमबार रुसको आरआईए न्युज एजेन्सीले आफ्नो दूतावासलाई उद्धृत गर्दै भनेको छ ।

यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो । यो रकम ५० लाख डलर रहेको उनीहरूको दाबी छ । तर, यसको पुष्टि हुन भने बाँकी थियो । अहिले काबुलस्थित रुसको दूतावासले पनि त्यही दाबी गरेको छ ।

​अशरफ गनी र उपराष्ट्रपति सालेहले आइतबार काबुल छाडेर भागेका थिए । उनीहरूसँग आफ्ना निकटस्थहरू पनि थिए । अहिलेसम्म उनीहरू भागेर कहाँ पुगे भन्ने स्पष्ट जानकारी आएको छैन । केहीले उनीहरू ताजिकिस्तान त केहीले उनीहरू अमेरिका पुगिसकेको दाबी गरेका छन् ।

काबुलमा रुसी दूतावासकी प्रवक्ता निकिता आईचेंकाले भनिन् – गनीले काबुल छाड्दा चारवटा कार र एउटा हेलिकप्टरमा पैसा राखेका थिए । त्यो पैसा यति धेरै थियो कि त्यसमा पनि अटाउन सकेन । त्यही भएर केही रकम काबुल विमानस्थलमा नै छाडियो । पछि न्युज एजेन्सीसँग कुरा गर्दा पनि उनले सो कुरा दोहोर्याइन् ।

आइतबार राति फेसबुक पोस्टमा गनीले आफू काबुलमा नै बसेको भए थप रक्तपात हुने बताएका थिए । यही कारणले आफूले देश छाड्ने कठिन फैसला लिएको बताएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्