Logo
Logo

अध्यादेश आशंकाले एमालेमा तरंग


693
Shares

काठमाडौं । संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ । सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।

एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन् । ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओली निकट एक नेताले भने । छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन् । पार्टी विभाजन गर्नेगरी कुनै पनि प्रकारको अध्यादेश आए त्यो मान्य र क्षम्य नहुने उनले उल्लेख गरेका छन्। उनले पार्टीका नेता, कार्यकर्ता, सांसद सबैलाई पार्टी विभाजनविरुद्ध उभिन अपिल गरेका छन् । उनले पार्टीको विवाद मिलाउन १० बुँदे सहमति भइसकेकाले त्यसको पालना र कार्यान्वयन हुने बताएका छन् ।

साँझको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेका छन् । स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

उता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३० भन्दा बढी केन्द्रीय सदस्य पनि छलफलमा जुटेका छन् । उनीहरूले आवश्यक परे राष्ट्रिय भेला बोलाएर भए पनि पार्टी विभाजन हुन नदिने गरी दबाब सिर्जना गर्ने भएका छन् । ‘पार्टी विभाजन हुने अवस्था आए एमालेका दुवै पक्षका नेताले आआफ्नो तहमा दबाब दिनेगरी कार्यकर्ता परिचालन गर्ने तयारी भएको छ’, एक नेताले भने ।

हाल कायम राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुग्नुपर्ने बाध्यकारी व्यवस्था छ । दुवै ठाउँमा ४० प्रतिशत नपुगेमा दल त्याग गरेको हुने व्यवस्था छ । यो व्यवस्थाले नेपाल पक्षलाई एमाले विभाजनका लागि रोकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्