Logo
Logo

देशैभर स्मार्ट सडक बत्ती जडान गर्ने कुलमानकाे याेजना


1.3k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी योजनाहरु सार्वजनि गरेको छ । प्राधिकरणको ३६ औं वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण व्यवस्थापन पुनर्संरचनादेखि विद्युत व्यापारसम्मका योजना मंगलबार सार्वजनिक गरेका हुन् ।

उनको योजनामा शहरी सडक उज्यालो बनाउन देशव्यापी स्मार्ट सडक बत्ती जडान गर्नेसम्मका छन् । ‍विद्युत प्राधिकरण ऐन अनुकूल हुने गरी प्राधिकरणसँग सरोकार राख्ने संघसंस्था र कर्मचारीसँगको सहमतिमा कर्मचारीका सेवासुविधा, पेन्सन, उपदान आदिको समेत सुनिश्चित हुने गरी पुनः संरचना गरिने घोषणामा उल्लेख छ ।

९० प्रतिशत जनसंख्या ग्रिडको पहुँचमा

विगतमा जस्तै गतवर्ष पनि विद्युत खपत गर्ने ग्राहकहरूको संख्यामा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा बृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ ।

सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ । समग्रमा हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको छ ।

प्राधिकरणले कोरोना महामारीका बाबजुद आ.व.२०७७/७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूतरूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ । कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत पु¥याइएको छ ।

विद्युत चुहावट बढ्यो

आ.व.२०७७/७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत रहेको छ,जुन आ.व.७६/७७ को तुलनामा १.९१ प्रतिशतले बढी हुन आउँछ । विद्युत खपतमा भएको बृद्धि, कोभिड–१९ को कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ्ग हुन नसकेको आदि कारणले उक्त चुहावटमा बृद्धि हुन गएको छ ।

नाफा घट्यो

आ.व.२०७७/७८ मा विद्युत बिक्रीबाट कुल रु.७१ अर्व २८ करोड आम्दानी भएको छ । जुन आ.व.२०७६/७७ को ७६ अर्व ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले न्यून रहेको छ ।

आ.व.२०७७/७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको रु.६१ अर्व ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले बृद्धि भई रु.६८ अर्व ४५ करोड पुगेको छ । विद्युत खरिद बापत आ.व.२०७७/७८ मा रु.४१ अर्व ४६ करोड खर्च भएको छ । जुन आ.व.७६/७७ को खरीद रु.३५ अर्व १२ करोड भन्दा १८.०५ प्रतिशतले बढी रहेको छ ।

आ.व.२०७७/७८ मा प्राधिकरणको अन्य आम्दानी सहितको खुद आम्दानी रु.८० अर्व ३५ करोडमा सञ्चालन खर्च रु.६८ अर्व ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा रु.११ अर्व ७१ करोड रहेको छ । यो संचालन मुनाफा आ.व. २०७६/७७ को रु २३ अर्व ७४ करोडको तुलनामा ५०.६७ प्रतिशतले घटी हो ।

गत आ.व.माकर अघिको मुनाफा ६ अर्व रहेको छ जुन आ.व.२०७६/७७ को रु १३ अर्व २७ करोडको तुलनामा ५४.७३ प्रतिशतले कमी हो । साथै आ.व. २०७६/७७ को कर पछिको खुद मुनाफा रु ११ अर्व ६८ करोड रहेकोमा गत आ.व.मा रु ३ अर्व ५१ करोड अर्थात ६९.९४ प्रतिशतले कमी रहेको छ ।

प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत रहेको छ । विद्युत विक्री बापत प्राप्त आम्दानीको ५८.८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको छ। आ.व.२०७६/७७ को तुलनामा प्राधिकरणको उत्पादन घटेको र विद्युत आयात बढ्न गएकोले आ.व.२०७७/७८ मा विद्युत खरिद बापतको खर्चमा १८.०५ प्रतिशतले बृद्धि भएको छ ।

निर्माण सम्पन्न आयोजनाहरु

राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ६ वटै यूनिटबाट पूर्णक्षमतामा विद्युत उत्पादन भइरहेको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सन् २०२० नोभेम्बर ११ मा ४०० के.भी.मा चार्ज भएको छ ।

आ.व.२०७७/७८ मा १३२ के.भी. क्षमताका ६०४.७४ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण तथा स्तरोन्नती सहितको २१३४.२० एमभिए क्षमताका सबस्टेसनको निर्माण कार्य पूरा भएको छ ।

त्यस्तै २२६.५ एम.भि.ए. क्षमताका ३३/११ के.भी.का १० वटा वितरण सबस्टेसनसहित हालसम्म कूल १९२८ एम.भि.ए.का १६१ वटा वितरण सबस्टेसनको निर्माण पूरा गरी सञ्चालनमा ल्याएको छ । ३३ के.भी., ११ के.भी. र ०.४/०.२३ के.भी. वितरण लाइनहरु क्रमशः ७०९, २८२७ र ८७१६ सर्किट किलोमिटर निर्माण सम्पन्न भएको छ ।

वितरण प्रणालीतर्फ २१२.२ एम.भि.ए. क्षमता बराबरका ३३/११ केभी सबस्टेसन, २०६६ सर्किट किलोमिटर ३३/११ के.भी. लाइन, ८४० सर्किट किलोमिटर ११ के.भी. भूमिगत वितरण लाइन, १८९४ सर्किट कि.मी.को ४०० भोल्टको लाइन र १११७ सर्किट कि.मी.को ४०० भोल्ट भूमिगत वितरण लाइन निर्माण भइरहेका छन् ।

साथै ८ एम.भि.ए.को एउटा ३३/११ के.भी.सबस्टेसनको निर्माण सम्पन्न भएको छ भने ३३ के.भी., ११ के.भी. र ४०० भोल्टेजस्तरका क्रमशः १०५ किलोमिटर, १७२ किलोमिटर र ४०० किलोमिटर लाइनको निर्माण पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्