काठमाडौं । नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टी औपचारिक रुपमा दर्ता भइनसकेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका एक अधिकारीका अनुसार बुधबार नेपाल समूहका नेताहरूले आयोगमा नयाँ पार्टीबारे जानकारीमात्रै गराएका छन् ।
नयाँ पार्टी दर्ता गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐनको नियमावली परिमार्जन गर्नुपर्ने हुन्छ । त्यसैले प्रक्रिया पूरा भएको मात्र दल दर्ता हुने उनको भनाइ छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेकपा एमालेबाट विभाजित भएर माधव समूहले नयाँ दल गठनको प्रक्रिया सुरु गरेका हुन् ।
माधव समूहले दल दर्ताबारे आयोगलाई जानकारी गराइसकेकाले आयोगले नियमावलीको ड्राफ्ट बनाउन सुरु गरेको ती अधिकारीको भनाइ छ । उनका अनुसार उक्त ड्राफ्ट बिहीबार (आजै) आयोगको बोर्डले पारित गर्ने तयारी गरेको छ । उक्त नियमावलीलाई कानुन मन्त्रालयले स्वीकृत गरी राजपत्रमा प्रकाशित गरेपछि नयाँ दल दर्ता हुनेछ ।
राजपत्रमा छापिने उक्त नियमावलीमा दल विभाजन गरी नयाँ पार्टी बनाउँदा दिनुपर्ने निवेदनको ढाँचा समावेश हुनुपर्छ । माधव समूहको निवेदन आएपछि आयोगले पार्टीको नाम, विधान, घोषणा पत्र, केन्द्रीय समितिका सदस्यको नाम, दस्तखत, ३३ प्रतिशत महिलालगायत सबै कुरा मिलेपछि नयाँ पार्टी दर्ता गर्न चाहनेहरूलाई सनाखतका लागि आयोगले बोलाउने छ ।
बुधबार जारी भएको अध्यादेशमा महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यको २० प्रतिशतले पार्टी विभाजन गर्न पाउने व्यवस्था गरेको छ । एमालेको महाधिवेशनबाट २०३ जना केन्द्रीय सदस्य बनेका थिए । २०३ को २० प्रतिशत ४१ जना हुन्छ । माधव समूहले बुधबार आयोगलाई दिएको पत्रमा महाधिवेशनबाट आएका ५८ केन्द्रीय सदस्य रहेको उल्लेख छ ।