Logo
Logo

पार्टीको नयाँ नाम खोज्दै माधव समूह


1.3k
Shares

काठमाडौं । नेकपा एमालेबाट विभिाजित माधवकुमार नेपाल समूह पार्टीको नयाँ नामबारे आन्तरिक छलफलमा जुटेको छ ।

माधव समूहले यसअघि नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर, यसअघि आयोगमा दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मिल्न गएको भन्दै आयोगले अर्को नाम प्रस्ताव गर्न भनेपछि माधव समूह नयाँ नाम खोजीमा जुटेको हो ।

तस्वीरः अनलाइनखबर

माधव पक्षका एक नेताका अनुसार पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ राख्ने विषयमा छलफल भइरहेको छ । कतिपय नेताले भने एकीकृत पनि नराखी नेकपा समाजवादी मात्र राख्ने प्रस्ताव गरेका छन् ।

गत फागुन २३ को सर्वोच्चको फैसलाले समेत आयोगमा कायम रहेको दलको नाम र चनाव चिन्हसँग मेला खाने नयाँ पार्टी दर्ता गर्न नमिल्ने भन्दै आयोगले अर्को नाम प्रस्ताव गर्न भनेको थियो ।

फागुन २३ को सर्वोच्चको फैसलामा ‘कुनै दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा त्यस्तो दल दर्ता हुन नसक्ने’ उल्लेख छ ।

आयोगले नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भएपनि औपचारिक रुपमा छलफल नभएको जनाएको छ । आयोग स्रोतले भन्यो, ‘आयोगमा दर्ता कायम भएको दलसँग मेल नखाने नाम लिएर आउनुस् भनेका छौँं । उहाँहरुले पनि नयाँ नाम लिएर आउने बताउनुभएको छ ।’

यस्तै, जनता समाजवादी पार्टीबाट विभाजित महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष पनि पार्टीको नयाँ नामका लागि आन्तरिक छलफलमा जुटेका छन् । महन्थ र राजेन्द्र पक्षले यसअघि ‘जसपा लोकतान्त्रिक’ नाममा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्