काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रत्यायोजित विधायन सम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ । शुक्रबार बसेको समिति बैठकले नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माको नेतृत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिलाई सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४, प्रत्यायोजित विधायन अनुसार नियमावली, कार्यविधि र निर्देशिकाहरु तयार भए/नभएको अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।
समिति सभापति शशी श्रेष्ठले सकेसम्म समितिलाई एक महिनाभित्रै अध्यन प्रतिवेदन तयार हुने गरी काम गर्न निर्देश गरेकी छन् ।
उपसमितिमा नेकपा एमालेबाट खेमप्रसाद लोहनी र लक्ष्मी कुमारी चौधरी, कांग्रेसबाट सांसद डिला संग्रौला, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहाय प्रसाद यादव सदस्य रहेका छन् ।
यसैबीच प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समितिको वार्षिक प्रतिवेदन २०७८ पास गरेको छ ।