Logo
Logo

लोसपा सरकारमा जान इच्छुक


2.3k
Shares

काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् । आयोगले नयाँ दललाई मान्यता दिए आफूहरू सरकारमा जान सकारात्मक रहेको नेताहरूले बताएका छन् ।

वरिष्ठ नेता शरत्सिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए । ‘माग र मुद्दाको आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ’, भण्डारीले भने, ‘यो सरकारलाई हामीले भोट (विश्वासको मत) पनि दिएका छौं । त्यसैले सरकारप्रति हाम्रो विश्वास छ।’

ठाकुर पक्षले यसअघि प्रस्ताव गरेको नयाँ पार्टीको नाम शुक्रबार परिवर्तन गरेको छ । नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राखिएको छ । यसअघि ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) राखेको थियो । आफ्नो पार्टीको नामबाट नयाँ पार्टी दर्ता नगर्न आग्रह गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बिहीबार निर्वाचन आयोग पुगेका थिए । पार्टी अध्यक्ष ठाकुरले पार्टीको नाममात्र परिवर्तन गरेका छैनन्, पार्टीको कार्यकारिणी समिति २४ सदस्यबाट बढाएर ३१ सदस्यीय बनाएका छन् ।

ठाकुरले भण्डारीलाई पनि वरिष्ठ नेताको स्थान दिएका छन् । यसअघि राजेन्द्र महतोलाई मात्र वरिष्ठ नेताको स्थान दिइएको थियो भने भण्डारीलाई कार्यकारिणी समिति सदस्यमा राखिएको थियो । भण्डारीले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएकोमा सरकारलाई धन्यवाद पनि दिए । ‘अध्यादेश ल्याएर सरकारले निकास दिएको छ। त्यसैले सरकारप्रति हामी सकारात्मक छौं’, भण्डारीले भने । आफूहरूले उठाएका माग पूरा गर्ने आश्वासन दिएको उनले बताए ।

लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा आफूहरूले उठाएका माग सम्बोधन गरिएको बताउँदै पार्टी सरकारमा जाने प्रष्ट पारे ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्