Logo
Logo

१० कक्षाका आधा विद्यार्थी ‘कमजोर’


189
Shares

काठमाडौँ । कक्षा १० मा पढ्ने आधा विद्यार्थीको सिकाइ स्तर अति कमजोर रहेको पाइएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी विद्यालयमा गरेको अध्ययनमा ५० प्रतिशत विद्यार्थीले पाठ्यक्रममा रहेका विषयवस्तुको न्यून सिकाइसमेत हासिल गर्न नसकेको भेटिएको हो ।

केन्द्रले कक्षा १० को विज्ञान, अंग्रेजी, गणित र नेपाली विषयको सिकाइ स्तरको मापन गरेको थियो । यी चार विषयमा औसत सिकाइ स्तर ५० प्रतिशतमात्रै रहेको केन्द्रका महानिर्देशक शिवप्रसाद सापकोटाले जानकारी दिए । अध्ययनका क्रममा विज्ञान विषयमा सबैभन्दा बढी विद्यार्थी कमजोर रहेको पाइएको छ । त्यसपछि क्रमशः अंग्रेजी, गणित र नेपाली विषयमा विद्यार्थी कमजोर छन् ।

विज्ञानमा ६३ प्रतिशत विद्यार्थी कक्षा १० को अपेक्षित सिकाइ क्षमताभन्दा तल्लो स्तरमा रहेको पाइएको छ । २० प्रतिशत विद्यार्थीले पाठ्यक्रमअनुसारको सिकाइ हासिल गरेका छन् भने १८ प्रतिशत विद्यार्थी सिकाइ स्तरभन्दा माथिल्लो तहमा रहेको पाइएको छ ।

अंग्रेजीमा ५१, गणितमा ४६ र नेपालीमा ३७ प्रतिशत विद्यार्थीको सिकाइ स्तर ज्यादै कमजोर छ । गणितमा २४, नेपालीमा २३ र अंग्रेजीमा १८ प्रतिशत विद्यार्थीले पाठ्यक्रमअनुसार सिकाइ उपलब्धि हासिल गरेका छन् ।

नेपालीमा ३९, गणितमा ३१ र अंग्रेजीमा ३० प्रतिशत विद्यार्थी कक्षा १० को पाठ्यक्रमभन्दा पनि उच्च सिकाइ उपलब्धि प्राप्त गर्ने क्षमताको रहेको केन्द्रले जनाएको छ । कक्षा १० मा प्रत्येक शैक्षिक सत्रमा करिब साढे ४ लाख विद्यार्थी अध्यययन गर्छन् ।

केन्द्रले सन् २०१९ मा कक्षा १० मा अध्ययन गर्ने सातवटै प्रदेशका ४२ हजार विद्यार्थीमाथि उक्त अध्ययन गरेको थियो । यी विद्यार्थी अहिले कक्षा १२ मा अध्ययन गरिरहेको छन् । १ हजार ८ सय विद्यालयका प्रधानाध्यापक र ३ हजार ६ सय शिक्षकमाथि पनि अध्ययन गरेर केन्द्रले सिकाइ उपलब्धिको मापन गरेको हो ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्