काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको अद्यावधिक गरी पठाएको विवरणलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । अध्यक्ष ओलीले पछिल्लोपटक अद्यावधिक गरी २६० केन्द्रीय सदस्यको विवरण आयोगलाई बुझाएका थिए ।
तर, दल दर्ताको विधानअनुसार रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेको छ । त्यसैले नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले साविककै २०३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने भएको छ ।
निर्वाचन आयोगले माधव नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी ९ भदौमा बोलाएको छ । नेपाल समूहले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पु¥याउँदा हुने भएको छ ।
भदौ १ गतेको पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० जनाको आयोगलाई विवरण बुझाएको थियो । तर, उक्त विवरणलाई आयोगले तत्काल मान्यता नदिने भएपछि अब नेपाल समूहको नयाँ दलले सनाखतका क्रममा २०३ केन्द्रीय सदस्यको २० प्रतिशतलाई आधार मानिने छ ।
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गरेलगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएर निर्वाचन आयोगमा अद्यावधि गर्न पठाएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहेको माधव नेपाल समूहले गत २ भदौमा निर्वाचन आयोगमा ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । तर, अब ४१ केन्द्रीय सदस्य भए पुग्नेछ ।