काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले केही दिनअघि मात्र आफू नेता माधवकुमा नेपाल समूहका जाने बताएका थिए । एमाले विभाजनमा गएसँगै गौतम ओली प्रवृतिका कारण माधव पक्षलाई साथ दिने उनको सचिवालयले जनाएको थियाे । तर, आइतबार उक्त समाचार प्रति गौतमको सचिवालयले सत्यता नभएको जनाएको छ ।
उनको सचिवालयले नेता गौतम एमालेमै रहेको र नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको भन्ने हल्ला निराधार भएको जनाएको हो । गौतमको सचिवालयले वामदेम गौतम नेकपा एकीकृत समाजवादीमा गएर मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका चर्चाप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ ।
नेता गौतमका स्वकीय सचिव दीपक टमटाले भनेका छन्, ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क.वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन ।’
उनले वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको भन्दै अन्य खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको जानकारी गराएका छन् । तर, यसअघि यतिसम्म समाचार आएको थियो कि नेता गौतमले एमालेबाट राजीनामा दिएर नेपाल समूहको दल नेकपा एकीकृत समाजवादीमा जाँदैछन् । तर, ती हल्लामा सत्यता नभएको टमटाले जनाएका छन् ।