बुटवल । लुम्बिनी प्रदेशसभाका दुई सांसदमाथि एमालेले गरेको कारबाही सिफारिसलाई प्रदेशसभा सचिवालयले ‘अमान्य’ ठहर गरेको छ ।
सचिवालयका तर्फबाट नेकपा एमालेलाई पत्र पठाउँदै सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि कारबाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने प्रस्ट पारेको हो । दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको सचिवालयले जनाएको छ ।
यसअघि एमालेले प्रदेश सरकारमा सहभागी भएको भन्दै अजय शाही र उपनिर्वाचनबाट प्रदेशसभा सदस्यमा विजयी विमला खत्री वलीलाई पार्टीले कारबाही गरेको विवरणसहित पदबाट मुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो ।
कारबाहीसम्बन्धी पत्र पठाएर पनि उनीहरुलाई पदमुक्त गरेको सूचना प्रदेशसभा बैठकमा सभामुखले जानकारी नगराएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।
सचिवालयले एमालेलाई पठाएको जवाफी पत्रमा अजय शाही निर्वाचनमा स्वतन्त्र समूहबाट सहभागी भएको र उनको व्यक्तिगत विवरणमा पनि स्वतन्त्र समूहको तर्फबाट प्रदेशसभा सदस्य रहेको उल्लेख भएको कारण उनलाई पदमुक्त गर्न नमिल्ने उल्लेख छ ।