काठमाडाैं । प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले काठमाडौंबाहेक पर्यटकीय नगरी पोखरालाई देशका विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ।
पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो।
यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट सिधा उडान विस्तार गरेको कम्पनीले केही साता अगाडि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो।
देशको महत्त्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ। शुरुआतमा साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछन्।
यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान भर्ने पनि योजना बनाएको छ। पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजे तोकिएको छ। उडानबाट दुवै प्रदेश तथा शहरका जनता लाभान्वित हुने कम्पनीको विश्वास छ।
सिमरा/वीरगञ्जका बासिन्दाले पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्नेछन्। यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहर पटना, दरभङ्गा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ।
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज ल्याएको छ।