काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताले १० बुँदे प्रस्ताव आफूहरुलाई अस्वीकार्य रहेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल तथा उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रल गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरुले १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने सैद्धान्तिक सहमती गरेपछि भोली स्थायी कमिटीको बैठक बोलाइएको छ ।
तर माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुले १० बुँदे प्रस्तावले पार्टी एकताबद्ध बनाउँन नसकिने भएकाले आफूहरुलाई स्वीकार्य नभएको जनाएका छन् ।
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले १० बुँदे सहमती मात्रै कार्यान्वयनले पार्टी एकताबद्ध नहुने बताए । प्रतिनिससभा दुई चोटी विघटन गरेका अध्यक्ष ओलीको पछिल्लो कार्यशैली लगायतका विषयमा त्यो १० बुँदे प्रस्तावमा केही उल्लेख नभएको उनले बताए ।
‘पछिल्लो समय विवाद भएपछि १० बुँदे प्रस्तावमा पावर सेयरिङ लगायतका बिषयमा केही उल्लेख नै छैन् । दुई–दुई चोटी प्रतिनिधिसभा विघटन गरेका ओलीको बारेमा केही प्रष्ट नभएको सहमती कार्यान्वयनले पार्टीलाई एकताबद्ध बनाउँन सकिदैन्’ खतिवडाले भने, ‘पार्टी गठन गर्दै दर्ताको प्रक्रियामा हामी अगाडी बढीसकेकाले अब पछाडी फर्किने कुरो आउँदैन् । केही साथीहरुले त्यसैलाई आधार मानेर जाने हो भने जान सक्नुहुन्छ, हामीलाई केही भन्नुछैन् ।’
पार्टी एकताका लागि दुई शक्तिका बीचमा छलफल हुनुपर्ने भए पनि त्यसो नभएको उनले बताए । ओली र नेपालका बीचमा केही पनि सहमती नभएकाले अहिलेकै अवस्थामा पार्टीलाई एकताबद्ध बनाउँन नसकिने उनले बताए । आफूहरु दल दर्ताको प्रक्रियामा अगाडी बढीसकेको बताउँदै पछाडी फर्किन नसक्ने खतिवडाले बताए ।