काठमाडौं । प्रहरी हवल्दार कुमार शाह पछिल्लो ८ वर्षदेखि निरन्तर प्रहरी मुख्यालयको यूएन शाखामा कार्यरत थिए । यूएन शाखा प्रहरीका लागि आकर्षक कार्यालयमा पर्दैन । तर, हवल्दार शाह भने जहाँ सरुवा भए पनि त्यही काज मिलाएर बस्दै आएका थिए ।
यूएन शाखामा उनको आकर्षण किन थियो भन्ने कुरा दुई साताअघि प्रष्ट भयो । उनीले त यूएन शाखाले सञ्चालन गर्ने परीक्षाकै प्रश्नपत्र समेत बिक्रि गर्ने धन्दा चलाउँदै आएका रहेछन् । गत १५ र १६ साउनमा सञ्चालित प्रहरीको ‘प्रि स्याट’ परीक्षाको प्रश्नपत्र लिक भएपछि शाहको धन्दा खुलेको हो ।
उनले प्रहरी परिचर सुरेश बमलाई परिचालन गरी यूएन शाखाका एसपी अनुपमशमशेर राणाको घर्राबाट प्रश्नपत्र चोरी गर्न लगाए ।त्यसका लागि पहिलेदेखि नै योजना बनेको थियो । एसपीको घर्राको एउटा साँचो उनले त्यसकै लागि पहिलेदेखि नै लुकाएका थिए ।
त्यसरी बमले प्रश्नपत्र चोरी गरेर शाहलाई दिएका थिए । तत्काल बमले त्यसवापत १० हजार रुपैयाँ लिएकोमा थप रकम दिलाउने आश्वासन दिएका दिए । हवल्दार शाह आफैं पनि परीक्षार्थी थिए । उनले सो प्रश्नपत्र विभिन्न व्यक्तिलाई आर्थिक डिल गरेर नै दिएको खुलिसकेको छ । एकसय भन्दा धेरै प्रहरीमा सो प्रश्नपत्र पुगेको खुलेपनि पहिलो घेरामा रहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।
यो घटनाको सन्दर्भमा गठन भएको छानबिन समितिले एकै कार्यालयमा लामो समय शाहलाई राख्दाको परिणाम भएसमेत उल्लेख गरेको छ । प्रहरीमा हवल्दार शाह जस्ता धेरै ‘भाइरस’ छन्, जसले संगठनलाई बदनाम गराइरहेका छन् । तर, यस्ता भाइरस हटाउन प्रहरी नेतृत्वले ठूलो आँट गर्न सकेको छैन ।
नेपाल प्रहरीमा यस्ता ‘भाइरस’ छन् । जो, काज मिलाएर सधैं एकै ठाउँमा बस्छन् । र, अर्बौ कमाउँछन् । यस्ता व्यक्तिबाट प्रहरी संगठन बदनाम हुँदै गएको छ ।
तल्लो तहका भएर पनि ठूलो चलखेल गर्ने अर्का प्रहरी हुन् संघीय प्रहरी कार्यालय काभ्रेका प्रहरी जवान टोपबहादुर गिरी । जो करिब १० वर्षदेखि सोही कार्यलयमा बस्दै आएका छन् । एसएसपीका घुमुवा बनेर लाखौं कमाइसकेका उनीमाथि हालै छानबिन सुरु भएको छ ।
बनेपामा पक्राउ परेका जुवाडेमाथि अनुसन्धान गर्ने क्रममा गिरीले मासिक पैसा लिने गरेको खुलेको हो । उनी अञ्चलमा आउने सबै एसएसपीका प्रिय भनेर उनीहरुको घुमुवा बन्ने र पैसा उठाएर बुझाउने गरेका थिए । त्यही धन्दाबाट उनले बनेपामा घर बनाइसकेका छन् भने सिपाहीको दर्जा भए पनि गाडी चढ्ने आर्थिक हैसियत बनाएका छन् ।
अख्तियारबाट छानबिन रोक्न उनले घुसको पैसा अष्ट्रेलिया पठाएर उताबाट रेमिटेन्स आएको देखाएर सम्पत्ति जोड्ने गरेका छन् ।
प्रहरीका त्यस्तै अर्का भाइरस हुन् असइ दिलिप कार्की । जो लामो समय नक्सालस्थित प्रहरी पेट्रोल पम्पको हर्ताकर्ता बने । हाकिमहरुसँग राम्रो सम्बन्ध बनाएर उनी सधैं त्यही बसिरहे । त्यसरी पावर लगाएर बस्नुको उद्देश्य अतिरिक्त कमाई नै थियो ।
पम्पमा फाइदा लिने मात्र नभई आम्दानी नै लामो समयसम्म आफ्नो खातामा राखेर उनले राजश्व हिनामिना गरेको खुल्यो । गच्त आइतबार मात्र उनीविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।
प्रहरी पेट्रोल पम्पले विभिन्न कम्पनीसँग सम्झौता गरेको छ । जसअनुसार पम्पमा ती कम्पनीको चिटको आधारमा इन्धन हाल्ने गरिन्छ । कम्पनीले पछि एकमुष्ठ भुक्तानी दिन्छ । त्यसरी आएको भुक्तानी उनले आफ्नै खातामा जम्मा गरेर हिनामिना गरेका हुन् । पछि चार्टड एकान्टेन्टले त्यो पत्ता लगाएपछि छानबिन सुरु भएको हो ।
यसमा प्रहरी नेतृत्वको नेतृत्वमा छानबिन सुरु भएको थियो । पछि पैसा फिर्ता गर्न नमानेपछि प्रहरीले उनलाई अख्तियारको जिम्मा लगाएको हो । उनले पेट्रोल पम्पको एक करोड तीन लाख हिनामिना गरेको आयोगले जनाएको छ । प्रहरी कल्याण कोषमा बसेर नियमन गर्ने जिम्मेवारी पाएका प्रहरीलाई भने यसमा जिम्मेवार बनाइएको छैन ।
जुवाडे भगाएर पैसा खल्तीमा
उता कैलालीमा जुवाडे भगाएर जुवाको पैसा लुकाएको आरोपमा पाँच प्रहरी निलम्बनमा परेका छन् । धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एएफसी होटल छापा हान्ने क्रममा जुवाडे भगाएर जुवाको पैसा लुकाइएको खुलेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानबिनका लागि गठित टोलीको सिफारिसका आधारमा पाँच प्रहरी गत बिहीबार निलम्बित भएका हुन् ।
निलम्बित हुनेमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेमसिंह धामी रहेका छन । त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुवँर प्रदेश प्रहरी कार्यालयको सिफारिसमा निलम्बनमा परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले बताए ।
प्रवक्ता चन्दले जुवा प्रकरणमा जोडिएका पाँच जना प्रहरीलाई निलम्बन गरेर अनुसन्धान प्रकृया अघि बढाइएको बताउँदै कसुर देखिए सोही अनुसार कारबाही हुने बताए । गत साउन १८ गते जुवा भैरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले मोटो रकम असुलेर जुवाडे भगाएको आरोप प्रहरीलाई लाग्दै आएको थियो ।
आरोप लागेपछि प्रहरीले सीसी क्यामेराको सहयोगले होटल संचालकसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रारम्भिक छानबिनमा पैसा लुकाएको देखिएपछि उनीहरु निलम्बनमा परेका हुन् । यो घटनामा उपल्लो तहका प्रहरीको समेत मिलेमतो हुनसक्ने आँकलन गरिएको छ । यो घटनामा पनि लामो समय एकै ठाउँमा काम गरेका प्रहरी भएकाले उनीहरुले बदमासी गरेको पाइएको छ ।