काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले पार्टीको १४औं महाधिवेशनमा सभापतिको आ–आफ्नो दाबी दोहोर्याएका छन् । सभापति शेरबहादुर देउवाको विकल्प पार्टीमा खोज्ने हो भने संस्थापन इतर पक्षबाट एकजनाले मात्र उम्मेदवारी दिनुपर्ने उनीहरूको बुझाइ छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवासँग संस्थापन इतरका कुनै एउटा नेताले उनलाई चुनौती दिने विश्लेषणमा पुगे पनि उनीहरू एकअर्कालाई नेतृत्व स्वीकार गर्न भने तयार देखिएका छैनन् ।
महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यताको अझै टुंगो लाग्न नसकेका बेला पछिल्लोपटक तोकिएको महाधिवेशन मिति के हुन्छ भन्ने निश्चित छैन । तर, पूर्वर्निधारित मिति तलमाथि नभए वडा अधिवेशन आउन अब केवल १० दिन बाँकी छ । अधिवेशन मिति नजिकिए पनि संस्थापन इतरबाट आकांक्षीको संख्या धेरै भएपछि नेता लक्ष्मणबहादुर बस्नेतले समझदारीको पहलका लागि सोमबार बैठक राखेका थिए ।
सभापतिका आकांक्षीहरू नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, शेखर कोइराला बैठकमा सहभागी भएका थिए ।
बैठकमा सभापतिका आकांक्षीहरूले संस्थापन पक्ष इतरबाट वडा अधिवेशनअघि नै एउटा उम्मेदवार बनाएर जानुपर्ने बताएका थिए । बैठकमा सहभागी नेता बलबहादुर केसीले सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको र त्यसबाट पार्टीलाई जोगाउन एकताबद्ध भएर महाधिवेशनमा जानुपर्छ भन्नेमा सभापतिका आकांक्षीहरू रहेको बताए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।