काठमाडौं । नेकपा एमालेले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रक्रियामा रहेको समूहलाई मूल धारमै फर्कन आग्रह गरेको छ । आज ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बसेको बैठकले माधवकुमार नेपाल समूहलाई एमालेमै फर्कन आग्रह गरेको हो ।
एमाले विभाजित हुँदा राजनीतिक स्थायित्व, लोकतन्त्र, सम्बृद्धि र समाजिक न्यायकै भविश्यमा दुष्परिणाम सिर्जना हुने एमाले स्थायी कमिटीको निष्कर्ष छ ।
‘तमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिरहेका कमरेडहरूलाई हामी आग्रह गर्छौँ । मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतीप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै गलत र हानिकारक बाटो छाडेर पार्टी एकतामा आबद्ध हुनुहोस्, आफ्नो मूलधारमा फर्किनुहोस्’, एमालेले भनेको छ ।
त्यस्तै विभाजनकारी गतिविधि र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्नेहरुलाई पार्टीमा स्वागत गरिने पनि एमालेले जनाएको छ ।
एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले छुट्टै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनीहरूको पार्टीलाई आयोगले बुधबार सनाखत गरेपछि मान्यता दिँदैछ ।