बुटवल । केही दिनअगाडि शसस्त्र प्रहरीले राजस्व छलिका लागि बनाइएको नक्कली स्टिकरसहित २ जनालाई पक्राउ गरेपनि उक्त स्टिकर कुन मदिरा उद्योगमा प्रयोग गर्न ल्याइएको हो भन्ने कुरा खुलेको छैन । उक्त स्टिकर सक्कली हो कि नक्कली भन्ने अझै खुल्न नसक्दा राजस्व अनुसन्धादेखि केन्द्रीय निकायसम्म सेटिङको आशंका उब्जिएको छ ।
गत भदौ ५ गते आन्तरिक राजस्व कार्यालय लेखिएको २ करोड ३५ लाख ६३ हजार बराबर मूल्यको नक्कली स्टिकरसहित २ जनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको थियो । ती स्टिकर अनुसन्धानकै क्रममा रहेकाले सक्कली हो कि नक्कली अझै पुस्टि भएको छैन ।
शसस्त्र प्रहरी बल डण्डा बोर्डर आउट पोष्टबाट शसस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल नक्कली स्टिकर बरामद गरेको थियो ।
रुपन्देहीको सिद्धार्थनगर नगरापलिका–३ दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले खानतलासी गरि स्टिकर बरामद गरेको थियोे । आन्तरिक राजस्व बिभाग लेखिएको उक्त स्टिकर २ करोड ३५ लाख ६३ हजार बराबरको रहेको आन्तरिक राजस्व कार्यालयको प्रारम्भिक विवरणबाट देखिएपनि यसमा अन्तशुल्क मात्र नभएर आयकरसमेत छलेको हुने हुँदा करिब ५ करोडको राजस्व छलि भएको अनुमान गर्न सकिन्छ ।
५० युपी १ सय ८० मिलिलिटरको २ लाख ४० हजार थान स्टिकरमध्ये आयकरको १० लाख बराबर, मुल्य अभिवृद्धि करको ३१ लाख ६३ हजार र सबैभन्दा बढी अन्तशुल्कको १ करोड ९४ लाखको स्टिकर बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका स्टिकरका बारेमा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याइएको छ । उता, राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजन बिसी यसबारे अनुसन्धान भइरहेको जानकारी दिँदै करिब ५ करोड राजस्व चुहावट भएको बताउँछन् । उनी भन्छन्, ‘यसमा तीनवटै निकायको संलग्नता देखिन्छ ।’ यो नितीगत समस्या पनि भएको बताउदै उनले राजस्वको केन्द्रिय निकाय भन्सार र अर्थमन्त्रालयले ध्यान दिन आवश्यक छ ।
पछिल्लो समय रुपन्देहीको बेलहिया सुनौली भन्सार नवलपरासीको महेशपुर र कपिलबस्तुको कृष्णनगर भन्सार तस्करका लागि स्वर्ग नै बनेको स्रोतको दावी छ । स्रोत भन्छ, ‘यहाँबाट लिच्ची कोड भाषाका नाममा स्टिकरमात्र होइन, मोटर पार्टससमेत प्रहरी र भन्सारका कर्मचारीको सँगको मिलेमतोमा भैरहवा, बुटवलदेखि नारायणगढ, काठमाडौं, पोखरादेखि दाङसम्म पुग्ने गरेको छ । तर, राजस्व अनुसन्धान कार्यालयलाई दैनिकजसो दर्जनाँै ब्यक्तिले मोटर पार्टसको कारोबार भएको पटक पटक जानकारी गराउँदा समेत ध्यान नदिएकाले ठूलो मात्रामा राजस्व गुमिरहेको र आफ्नो ब्यवसाय धाराशयी भएको एक व्यवसायीले दृष्टिसँग बताए ।
पहिला बुटबलको यातायात कार्यालयमा बसेका राजस्वका प्रमुख पुनः बुटवल उपमहानगरपालिकामा प्रमुख भएर आएपनि बिष्णु पौडेल अर्थमन्त्री भएपछि उनकै जोडबलमा आन्तरिक राजस्व कार्यालय बुटवलमा प्रमुख बनेर आएका राजन बिसी सानातिना ब्यापारी फलफूल, चाउचाउ बिस्कुटवाला रिटेलरलाई समातेर धेरै थोरै जरिवाना गराएर कारबाही गर्ने गरेपनि ठूलो राजस्व चुहावट गर्नेतिर ध्यान दिन नसकेको ब्यापारीहरुको आरोप छ ।
यस क्षेत्रकामा लामो समय बिताएका बिसी प्रायः सानातिना ब्यापारीलाई हप्काई दप्काई गर्ने गरेपनि ठूलामाछासँग साँठगाँठ गर्ने गरेका कारण राजस्व गुमिरहेको पीडित ब्यवसायीको गुनासो छ ।
नक्कली स्टिकरसँगै सिद्धार्थनगर नगरपालिका ३ दरखसवाका २३ बर्र्षीय साहिद अन्सारी र सोही ठाउँका २४ बर्षीय अमानत अलि पक्राउ परेका छन् ।
पक्राउ परेका ब्यक्तिहरुको बयानकै आधारमा उक्त समान ढुवानी गर्न प्रयोग गरिएको लुु२ च २५० नम्बरको गाडी नियन्त्रणमा लिएको छ । यतिका दिन हुँदा पनि वास्तकिक आशंकित उद्योगका ब्यक्ति अनुसन्धानका लागि नियन्त्रणमा नआउनु र उद्योगमा छापा नमारिनुले गलत कामको ढाकछोप भएको र यस अघि पनि यस्तो काम नभएका होलान भन्न सकिँदैन ।
हाल यस क्षेत्रमा रहेका धेरै मदिरा उद्योग बन्द छन् । चालु रहेको मदिरा उद्योगको यकिन तथ्यांक नभएपनि रुपन्देहीमा करिब ५ वटा चालु अवस्थामा रहेको बताइन्छ । सरकारले छापेर पठाउने स्टिकर कर कार्यालयको रोहवरमा उद्योगलाई उपलबध हुन्छ । कुन उद्योगले प्रयोग गरेको त्यो अनुसन्धा पछि पत्ता लाग्ला । तर, यी स्टिकर भनेको नगद रुपैयाँ सरह नै हो । तसर्थ, यो स्टिकर प्रकरणप्रति राजस्व बिभाग, भन्सार बिभाग, अर्थमन्त्रालय र संघीय सरकारको तत्काल ध्यान जान जरुरी छ ।