काठमाडौं । एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्युँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन् ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको भूमिकामा थिए ।
भट्टराई एमाले र माओवादीबीचको एकताबाट नेकपा गठन भएपछि त्यो जिम्मेवारीबाट अलग्गिएका थिए ।
सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेमा अध्यक्ष ओलीविरोधी कित्तामा रहेका भट्टराई त्यसपछि मंगलबारमात्र पहिलोपटक एमाले बैठकमा सहभागी भएका थिए ।