काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गरेका छन् । माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीको सूचना ९ दिन बितिसक्दा पनि नटाँसेको भन्दै ओलीले सापकोटामाथि आक्रोश पोखेका हुन् ।
‘सभामुखलाई दाँत टाल्ने फूर्सद छ, एमालेले गरेको कारबाही नौ दिनसम्म रोकेर बसेका छन्’, उनले भने, ‘आठौं दिन त दाँत टाल्न हिँडेछन् तर सात दिनसम्म के गरेर बसेछन् सभामुख ?’
ओलीले अब टालेको दाँतले एमालेको कारबाही सदर गर्न भन्दै सापकोटामाथि व्यंग्य गरे । ‘सभामुख त हिजो त दाँत टाल्न गएका रहेछन् । उनलाई दाँत टाल्ने फुर्सद छ तर एमालेको कारबाही किन सदर गर्न सक्दैनन् ?’, उनले भने ।
दलले गरेको कारबाही रोक्ने अधिकार सभामुखसँग नरहेको उनले बताए । ‘सभामुखसँग त्यो अधिकार कहाँ छ ? पार्टीले कारबाही गर्ने नगर्ने कुरा संविधानले दिएको छ’, उनले भने, ‘सभामुख एमाले फुटाउने षड्यन्त्रमा लागेका छन् । सभामुखले पक्षधरता छाड्न नसक्ने कानुनको पालना गर्न नसक्ने आफैंले पार्टीको लबिङ गर्दै हिँडेका छन् ।’
सभामुखको बाटो लोकतन्त्र विरोधी र भष्मासुरको भएको उनले बताए । ‘लोकतन्त्र विरोधी भष्मासुरको बाटो हो त्यो’, उनले भने, ‘सभामुखले त्यसलाई सच्याएर जान सक्नुपर्छ ।’