काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) आन्तरिक विवाद र नेतृत्वबीचको टकराव र आपसी आरोपप्रत्यारोप पछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएपछि अन्ततः नेकपा एमाले वैधानिकरुपले विभाजनको बाटोमा गयो । आज निर्वाचन अयोगले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई मान्यता दिएसँगै मावधकुमार नेपालको नेकपा एमालेसँगको दशकौं लामो आवद्धता टुटेको छ ।
१५ वर्ष एमाले महासचिव जिम्मेवारी सम्हाल्नुभएका पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता समेत रहनु माधवकमार नेपालको नेतृत्वमा नयाँ दलले मान्यता पएसँगैै एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको ३३ वर्षे लामो सहकार्य टुटेको छ । विगतमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको सम्बन्ध सौहाद्रपूर्ण थियो । पछिल्लो केही समयदेखि दुवैको राजनीतिक सहयात्रा तिक्ततापूर्ण रहँदैआएको छ । ऋषि कट्टेलले नेकपाविरुद्ध दर्ता गर्नुभएको रिटमाथि सर्वोच्च अदालतले गत फागुन २३ मा परमादेश जारी गरेपछि ओली र नेपालबीच झन दूरी बढ्यो ।
अध्यक्ष ओली नेतृत्वको एमाले र माओवादी केन्द्रलाई पुरानो साविककै दलमा पुनस्र्थापित गरिदियो । पूर्वप्रधानमन्त्री ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाका विषयमा सर्वोच्चको आदेशले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा मात्र फर्काएन, सँगै नयाँ तिक्तताको पहाड नै खडा गरिदियो । २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई सर्वोच्चले खारेज गरिदिए पछि सिधा असर एमालेमा प(यो ।
२०४९ सालमा महासचिव हुनु भएका नेपालले डेढ दशक एमाले पार्टीलाई हाँक्नुभएको थियो । १३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका बताउनु हुने नेता नेपाल सम्भवतः अहिले आफ्नो राजनीतिक जीवनको सबैभन्दा कठिन मोड आइपुग्नुभएको थियो तर त्यसबीचमा पनि उहाँले नयाँ शिराबाट बामपन्थी एकतामा लाग्ने प्रतिवद्धता जनाइ सक्नु भएको छ ।
सर्वोच्चको आदेशपछि पनि संसदीय दल र केन्द्रीय कमिटीमा बहुमत नहुँदा समेत वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेता नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक संघर्ष गर्नुभयो । पार्टी भित्रको आन्तरिक विवाद र समस्या समाधानका लागि बल गरिरहनुभयो । तर अध्यक्ष ओलीले पेलेरै अगाडि बढ्ने नीति अख्तियार गर्नुभएपछि खनाल–नेपाल बाध्य भएर नयाँ बाटो तय गर्नुपरेको प्रतिक्रिया दिन थाल्नुभएको थियो ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।