Logo
Logo

अन्ततः एमाले विभाजित भएरै छाड्यो


1.1k
Shares

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदको बुधबार हस्ताक्षर सनाखत गरेको छ ।

सनाखतपछि आयोगले नेपाल नेतृत्वको उक्त दललाई दर्ता गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्णय भएको जानकारी दिए । आयोगले यस्तो निर्णय गरेसँगै अन्ततः एमाले विभाजित हुन पुगेको छ । एमाले विभाजनको अवस्थामा आउनुअघि पार्टीमा लामो रस्साकस्सी चलेको थियो ।

आयोगद्वारा निर्धारण गरिएको समयअनुसार बुधबार निर्वाचन आयोग पुगेर ५४ केन्द्रीय सदस्य तथा २९ सांसदले सनाखत गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालले भने भारतस्थित नेपाली दूतावासमार्फत पत्र पठाएर सनाखत गराएका थिए । एमालेबाट प्रतिनिधिसभा र राष्ट्रियसभा गरी १ सय ५४ सांसदमध्ये ३० जना र २ सय ३ जना केन्द्रीय सदस्यमध्ये ५५ जनाले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि सनाखत गरेका हुन् ।

नयाँ दल विभाजनका लागि केन्द्रीय सदस्यको संख्या २७ प्रतिशतभन्दा बढी भए पनि सांसदको संख्या भने २० प्रतिशत पुगेन । आयोगले दल विभाजनका लागि दिएको निवेदनमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्य तथा सांसदहरूलाई सनाखतका लागि बुधबार बिहान साढे ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि समय तोकेको थियो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेता खनालसहित ३० सांसद र ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेको बताए ।, यो समाचार आजको नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्