काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका १४ जना सांसद र कार्यकारिणी समितिका १६ सदस्यले बुधबार दिउँसो निर्वाचन आयोगसमक्ष हस्ताक्षर सनाखत गरेपछि आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई दर्ता गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले लोसपा दर्ता गर्ने निर्णय लिएको जानकारी दिए । लोसपा दर्ता भएसँगै जसपा औपचारिक रुपमा विभाजित भएको छ ।
संघीय संसद्मा जसपाका ३७ सांसद छन्। तीमध्ये १४ जना लोसपाको पक्षमा उभिएका छन्, जुन ३७ दशमलब ८४ प्रतिशत हो । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । त्यसमध्ये १६ जना कार्यकारिणी सदस्यले लोसपाको पक्षमा सनाखत गरेका हुन्, जुन करिब ३३ प्रतिशत हो । लोसपाबाट हस्ताक्षर गरेका कार्यकारिणी समितिका एक सदस्य रेशम चौधरी जेलमा छन् । उनी निलम्बित अवस्थामा छन् । उनको हस्ताक्षरलाई आयोगले गणना नगरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
सरकारले राजननीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नयाँ पार्टी दर्ता गर्न ठाकुर पक्षलाई कानुनी रूपमा बाटो खुला भएको हो । यसअघि आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर झन्डै दलविहीन अवस्थामा पुगेका थिए । सरकारले अध्यादेश नल्याएको भए ठाकुरले पार्टी फुटाएर नयाँ दर्ता गर्न सक्दैनथे । पार्टी फुटाउन उनको पक्षमा संघीय संसदीय दल र कार्याकारिणी समितिमा ४० प्रतिशत पुग्दैनथ्यो ।
कानुनी रूपमा पार्टी फुटाउन नसक्ने भएपछि ठाकुर र उनी पक्षका नेताले आफूहरू जसपामै रहेको प्रतिक्रिया दिएका थिए । तर भित्रभित्रै उनीहरूले नयाँ पार्टीको अभ्यास गरेका थिए । सरकारले अध्यादेश ल्याएपछि भने नयाँ पार्टी गठन गर्न सजिलो भएको हो । आफू पक्षका सांसद र कार्यकारिणी सदस्यले कित्ता नफेरुन् भनेर ठाकुर र राजेन्द्र महतो उनीहरूसँग निरन्तर सम्पर्कमा थिए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।